ललितपुरमा ओलीले चुनावी सभालाई सम्बोधन गर्दा बम विस्फोट

 

ललितपुर । ललितपुरमा बम विस्फोट भएको छ । ललितपुरको लगनखेल बस पार्कमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट गराइएको हो ।
सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।
दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ विस्फोटको ठूलो आवाज आएको थियो ।
घटनामा मानवीय क्षति भने भएन ।
वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको बृहत् चुनावीसभालाई लक्षित गरी बम विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति भएको छैन । स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका छन् ।

विद्यालय नजिक भएको विस्फोटका कारण जमिन खाल्डो परेको छ । विस्फोट लगत्तै पुगेको नेपाली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनाको कसैले जिम्मा लिएको छैन ।
लखनखेल बसपार्क नजिक आयोजना गरिएको सभाको प्रमुख वक्ता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले जनाएको छ । सभा केहीबेर रोकेर सञ्चालन गरिएको छ । ‘निर्वाचन नगरे अरु के गर्ने ? जनताले प्रतिनिधि छान्न पाउने कि नपाउने ? हिँड्दै छ भने मान्छे गन्तव्यमा पुग्ने कि नपुग्ने ?’ बम पड्किएपछि आक्रोशित हुँदै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, यस्ता सानातिना घटनाले निर्वाचन रोक्नु हुँदैन, रोकिन्न ।

वाम गठबन्धनले आज काठमाडौँको नयाँ वानेश्वरमा पनि चुनावी सभा आयोजना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी गर्न कांग्रेस नेतृत्वलाई आफूहरुले घिसारेर ल्याएको खुलासा गर्नुभएको छ । काठमाडौंको नयाँ बानेश्वरमा वाम गठबन्धनको चुनावी सभालाई  सम्बोधन गर्दै ओलीले आफूहरु नपुगेका ठाउँमा कांग्रेस नेताहरु गएर हामीले संविधान ल्यायौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै ओलीले संविधान जारी गरेका बेलाको कांग्रेसको ब्यवहार साम्झिन आग्रह गर्नुभयो । 

‘त्यस्तै उस्तै ठाउँमा पुगेपछि कांग्रेसका नेताहरु संविधानका जनक हौं भनेजसरी प्रचार गर्दा रहेछन्’ ओलीले भन्नुभयो, ‘तपाईंहरुले विर्सनु भएको छैन, संविधान जारी गर्न कांग्रेसलाई हामीले घिसारेर ल्याउनु परेको थियो । कताबाट के निर्देशन आउँथ्यो, कांग्रेस औंठा लुकाएर भाग्थ्यो ।’ 

ओलीले अहिले देशले कता जाने भन्ने फैसला जनतासँग खोजिरहेको वताउँदै कांग्रेसको नेतृत्वमा देशले समृद्धि पाउन नसक्ने वताउनुभयो । ‘देशले यतिबेला फैसला खोजेको छ, अव देशलाई कता लैजाने ?’ ओलीले भन्नुभयो, ‘लामो समयसम्म देशले गतिलो नेतृत्व पाएन । होला होला जस्तो हुन्छ नागपासको खेलजस्तो माथि पुगेपछि तल झर्छ । कहिले तानाशाही फर्कियो कहिले अस्थिरता आयो ।’ ओलीले कांग्रेससँग बहुमत भएकै बेला ०७ सालमा आएको उपलब्धी १७ साल र ०४७ सालमा आएको उपलब्धी ५९ सालमा खेर गएको उदाहरण दिंदै अव कम्युनिस्ट पार्टी बलियो भएकाले उपलब्धी खेर नजाने वताउनुभयो । 

उहाँले कुनै बेला बीपी र गणेशमानले बनाएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस अव भर पर्न नसकिने र अविश्वसनीय अवस्थामा पुगेको वताउनुभयो । ‘बीपीले दुःख गरेर बनाउनु भएको गणेशमानजीले परिश्रम गरेर बनाउनु भएको पार्टी अहिले भर पर्नै नसकिने, विश्वास गर्नै नसकिने अवस्थामा पुगेको छ’ ओलीले भन्नुभयो, ‘कहिले पहाड र तराई अलग गर्नुपर्छ भन्छ, कहिले बहुराष्ट्रियता भन्नेसँग साँठगाँठ गर्छ । देशलाई माया गर्दैन, सानो स्वार्थ पूरा गर्न जे पनि गर्छ ।’ 

ओलीले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जीवनको उत्तरार्धमा कांग्रेस काम नलाग्ने भनेर घोषणा नै गरेको उदाहरण दिंदै कांग्रेसमा ५० वर्ष विताएका योद्धाहरु अहिले एमालेमा प्रवेश गर्न थालेको वताउनुभयो । ‘गणेशमानजीले रुँदै आफूले बनाएको कांग्रेस छोड्नु भयो, बीपी हुनु भएको भए अहिलेको कांग्रेसमा बस्नुहुन्नथ्यो । अस्ती चितवनमा ५० वर्ष कांग्रेसमा विताउनु भएको त्रिलोचन पौडेल लोकतन्त्रको रक्षा गर्न एमालेमा प्रवेश गर्नुभयो’ ओलीले भन्नुभयो, ‘अहिले केही साथीहरु बीपी कांग्रेस बनाएर हिंड्नु भएको छ । अव कुनै पार्टी बनाउनु पर्दैन, आउनुस् एमालेमा, मिलेर देश बनाउँ ।’ 

कांग्रेस आफ्नो नीतिबाट च्यूत भएको भन्दै ओलीले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबै कांग्रेसले छोडिसकेको वताउनुभयो । ‘नाकाबन्दीले ग्यास नपाएर घरमा चुल्हो निभेको छ, कांग्रेस नेता उता राष्ट्रसंघमा गएर नाकाबन्दी छैन भन्छन्, कहाँ छ कांग्रेससँग राष्ट्रियता ?’ ओलीको प्रश्न थियो, ‘अव उम्मेदवार राम्रो भनेर कसैलाई भोट दिन सकिंदैन, कुन पार्टीको भन्ने विचार गरेर दिनुपर्छ ।’ 

आफूले सरकारको नेतृत्व गर्दा एक वर्षमा लोडसेडिङ हटाउनेगरी काम गरेको र एक वर्षभित्र लोडसेडिङ हटेको वताउँदै ओलीले अव अहिले घोषणा गरिएजस्तै मुलुकलाई समृद्धितर्फ अघि लगिने वताउनु भयो । उहाँले काठमाडौं क्षेत्र नम्बर १ का वाम उम्मेदवार अनिल शर्मालाई आफूले विश्वास गर्ने वताउँदै शर्माका योजना अनुरुप काठमाडौं १ मा नयाँ सरकारले विकास योजना लागू गर्ने वताउनुभयो ।