मतदातालाई पठाइएको ओलीको हवाईपत्र

maitrinews

काठमाडौँ । नेकपा एमालेले पनि चुनावी प्रचारमा आधुनिक प्रविधिमात्र नभएर पुरानो प्रविधिलाई आत्मसात गरेको छ । एमालेले अध्यक्ष ओलीको ‘हवाइपत्र’ को नामबाट मतदातासमक्ष सन्देश सम्प्रेषित गरिरहेको छ ।

त्यसो त एमाले सामाजिक सञ्जालका सबै अवयव र प्रचारको प्रविधियुक्त उपाय पछ्याएको पनि छ । तर, त्यो भन्दा ‘हवाइपत्र’ ज्यादा उपयोगी भएको पार्टीको बुझाइ छ ।

के छ हवाइपत्रमा ?

मदन भण्डारीको टिकट टाँसिएको हवाइपत्रका प्रेषक हुननुहन्छ अध्यक्ष ओली र प्रापकको नाम भने एमालेले कायकर्ता आफैँले लेखेर घरघर पुर्‍याइरहेका छन् । पत्र–सन्देशमा नौलो कुरा केही पनि छैन । चिट्ठीपत्रकै भाषा शैली प्रयोग गरिएको पत्रको सुरूआतमा अध्यक्ष ओलीले मतदाताको आरामको कामना गर्नुभएको छ। भेट्ने इच्छा हुँदाहुँदै सम्भव नभएपछि पत्र लेखनमार्फत् आफ्ना कुरा भन्न परेको उहाँको आशय छ ।

त्यस्तै ओलीले निर्वाचनलाई पूणरूपमा सदुपयोग गर्नु सबैको कर्तव्य र दायित्व भएको औँल्याउँदै संविधान कार्यान्वयनका लागि निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

उहाँले नेपालको जलस्रोतको सम्भाव्यता, पर्यटकीय प्रचुरताबारेमा चर्चा गर्दै अबको दिशा आर्थिक समृद्धिको भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै ओलीले एमाले–माओवादी तालमेल र एकता प्रक्रियाबारे मतदाताको बीचमा रहेको अन्योलता दूर गर्ने प्रयास गर्नुभएको छ। र भनेका भन्नुभएको छ, “तपाईंहरुकै चाहना र शुभेच्छाले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवस्था आएको हो । यसका लागि तपाईंहरू सबै धन्यवाद तथा बधाईका पात्र हुनुहुन्छ ।”

“मुलुकको विकास निर्माणका अनेकौं पाटाहरुका बारेमा यो सानो चिट्ठीमा लेखेर कहाँ अटाउन सकिन्छ र ? हामीले यस विषयमा हाम्रो घोषणा पत्रमा विस्तारमा लेखेका छौं । समय मिलेमा त्यो पनि पढ्नूहोला,” उहाँले अनुरोधसमेत गर्नुभएको छ ।

त्यस्तै उहाँले कम्युनिस्ट सरकार बन्यो भने रुनसमेत पाइँदैन भनेर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भनेकाप्रति खण्डन गर्दै भन्नुभएको छ, “ढुक्क हुनूहोस्, वामपन्थीहरूको सरकार बन्यो भने तपाईंहरुले पछुताउनु पर्नेछैन । हाम्रा सन्ततिहरूले रुनुपर्ने छैन । मुलुकले अवस्य काँचुली फेर्नेछ । तपाईं हाम्रो शीर गर्वले ठडिनेछ ।”

“वामपन्थीहरुको सरकार बन्यो भने अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन भनेर भ्रम छर्ने साथीहरूलाई प्रश्न गर्नुहोस्, तपाईंहरू त कम्युनिस्ट सरकार आयो भने बूढाबूढीलाई गोली ठोकेर मार्छ भन्नुहुन्थ्यो, उल्टै वामपन्थी सरकारले त बूढाबूढीलाई आफ्नै बाआमालाई जस्तै स्याहारसुसार पो गर्‍यो त १ त्यति भन्नुभयो भने उनीहरू नाजवाफ हुनेछन् ।,” उहाँले मतदातालाई प्रश्न सोध्नसमेत आग्रह गरेका छन् ।

“अन्तमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको दीगो विकासका लागि वाम गठबन्धनको महाशक्तिलाई मतदान गर्नूहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नूहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौंला,” परम्परागत चिठी लेखनशैली पछ्याउँदै पत्रको बिटसमेत मार्नु भएको छ उहाँले ।

कति छापियो पत्र ?

एमाले पोलिटव्यरो सदस्य विष्णु रिमालले ४० लाख हवाइपत्र छापेर हुलाकीकै शैलीमा घरघर पुर्‍याइएको जानकारी दिनुभयो ।

“हामीले उल्लेख्य पत्र छापेका छौँ र वितरण गर्न आफ्नै कार्यकर्ता पंक्ति परिचालन गरेका छौँ,” उहाँले भन्नुभयो । संगठित सदस्य, पार्टी समर्थक, शुभेच्छुक लगाएर घरदैलोमा पत्र पुर्‍याइरहेको उहाँको भनाइ छ । त्यस्तै उमेदवार भेटघाट तथा घरदैलोका माध्यमबाट पनि पत्र पुर्‍याएका छन्, एमालेका कार्यकर्ताहरूले ।

किन छापियो पत्र ?

संविधान जारी भएपछिको पहिलो चुनाव भएकाले बढीभन्दा बढी मतदातालाई निर्वाचनमा सहभागी गराउन पत्र छापिएको र हवाइपत्र नै प्रभावकारी ठानिएको रिमालको ठम्याइ छ ।

“चिठी पठाउँमा मतदातासँगको सम्वन्ध अझ प्रगाढ र न्यानो भएको हामीले पाएका छौँ । सबै मतदाताको बीचमा अध्यक्ष ओली पुग्न सक्ने सम्भावना छैन । त्यसैले अध्यक्ष पुगेसरह नै हुने गरी हामीले भाषाशैली बनाएर पत्र पठाएका हौँ,” उहाँले भन्नुभयो ।

उहाँले अघिपछिको भन्दा यसपटकको चुनाव विशेष महत्व भएकाले सबै मतदाताकाबीचमा पार्टी पुगोस् भन्ने अभिप्राय राखेर पत्र पठाइएको जिकीर गर्नुभयो ।