कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग : प्रचण्ड

maitrinews

 

रत्ननगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्षको लामो भूमरीमा परेको राजनीतिलाई त्यसबाट निकालेर देशलाई समृद्धिको यात्रामा लैजाने अठोटका साथ वाम एकता भएको स्पष्ट पार्नुभएको छ ।

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको पटिहानीमा आयोजित चुनावीसभामा उहाँले भन्नुभयो – “यही मंसिर २१ को निर्वाचनपछि आउने कम्युनिष्टको सरकारले त्यो भूमरिबाट देशलाई निकालेरै छाड्छ,
त्यसपछि मुलुकमा आर्थिक समृद्धि र विकासको यात्रा अघि बढ्छ ।”

चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले लामो संघर्ष र बलिदानपछि समावेशी र लोकतन्त्रसहितको संविधान बनेको उल्लेख गर्दै निर्वाचनपछि विकासले फड्को मार्ने बताउनुभयो ।

कम्युनिष्टको बलियो केन्द्र बनाउने उद्देश्यसहित ७७ वटै जिल्लामा साझा उम्मेदवार खडा गरेको उल्लेख गर्दै उहाँले सबैका निम्ति यो खुसीको कुरा भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो –“देशमा स्थिरता होस् र समृद्धि होस् भन्ने चाहना राख्ने काँग्रेसलगायत अरु पार्टी सबैले कम्युनिष्ट एकतालाई सकारात्मक रुपमा हेरेको छ ।”

यसअघि आफू पढेको चितवनको शिवनगर स्थित नारायणी विद्यामन्दिर उच्च माविमा आज अपराह्न भएको एक अन्तरक्रियामा उहाँले स्कुलका सहपाठी गुरुहरुसँग भेट हुँदा पुरानै सम्झना आएको बताउँदै यही स्कुलको शिक्षाले अहिले आफू यहाँसम्म आइपुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
भरतपुर–२१ पर्वतीपुरमा जेष्ठ नागरिकसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले ज्येष्ठ नागरिकको आशिर्वादले आफूले चुनाव जितेको जस्तै महसुस भएको उल्लेख गर्नुभयो । सो क्रममा जेष्ठ नागरिकहरुले उहाँलाई विभिन्न माग प्रस्तुत गरेका थिए ।

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताउनुभएको छ । 

‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताउनुभयो । 

“जनयुद्ध शुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नआएका बताउँदै उहाँले यो विचित्रको कुरा भएको छ” भन्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट मिल्दा एउटा जनमत उत्साहित भएको छ, अर्काे पक्ष विचलित जस्तो नकारात्मक तरंग देख्छु ।” 

उहाँले अगाडि थप्नुभयो “एकातिर कम्युनिष्ट तानाशाही आउँछ भनिएको छ, अर्काेतिर तिनै साथीले कम्युनिष्ट एकता हुनै सक्दैन, भए पनि टिक्दैन चुनावपछि भाँडभैलो हुन्छ भनिरहेका छन् ।” पार्टी एकतामा शंका नगर्न आग्रह गर्दै दाहालले भन्नुभयो “अब एकतालाई कसैले रोकेर रोकिँदैन ।” जस्तोसुकै तरंग आए पनि नेपालमा वामपन्थीको सरकार आउने र त्यसलाई राष्ट्रलाई समाजवादतर्फ लैजाने उहाँको भनाइ थियो । 

बिपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिष्ट एकता देखेर खुशी हुने बताउँदै दाहालले पार्टी एक हुँदा राष्ट्रलाई फाइदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताउनुभयो । विभाजित काँग्रेस पनि एक हुँदा राम्रो हुने बताउँदै दाहालले भन्नुभयो– “विभाजित काँग्रेस पनि सबै एकै ठाउँमा आउन जरुरी छ ।” 

अहिलेको काँग्रेस बिपीको समाजवाद र गिरिजाप्रसादको गणतन्त्रको लाइनबाट थोरै विक्षिप्त भएको दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “बिपीको समाजवाद र गिरिजाको गणतन्त्रको लाइनबाट काँग्रेस विचलित भएकाले उहाँहरुले गल्ती गर्नुभयो भन्ने मेरो आरोप छ ।” 

राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्ने भन्दै दाहालले भन्नुभयो– “यति धेरै गाली नगर्नुहोस्, भोलि पनि मिल्नुपर्छ, त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस् ।” 

भोलि देशमा अलकादवादी, विखण्डनवादी धार आयोभने काँग्रेससँग मिलेर लड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “काँग्रेस पनि देश टुक्रियोस् भन्ने चाहनुहुन्न, त्यतिबेला राष्ट्रको एकता र स्वाधीनताका लागि लड्नुपर्छ ।” 

चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका दाहालले राजनीतिक अनैतिकताको एउटा प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यो लडाइँमा सत्यको विजय अवश्य हुन्छ ।”