दोस्रो चरणको मतदान शान्तिपूर्ण, ६७ प्रतिशत मत खस्यो, पहिलो चरणको मतगणना सुरु, धेरै स्थानमा बाम गठबन्धनको अग्रता

maitrinews

काठमाडौं ।दोस्रो चरणमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको सम्पन्न मतदानको मतगणाना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार धेरै स्थानमा बाम गठबन्धनले अग्रता लिएको छ ।

अर्घाखाँचीका दुईवटा मतदानस्थलको मतदान स्थगित भए पनि अन्यत्र सबैठाउँमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै सर्लाही, भक्तपुर, स्याङ्जा र अछाममा पनि सामान्य झडपका घटना भएका छन् । तर, त्यहाँका कुनै पनि मतदान केन्द्रको मतदानमा भने अवरोध भएन ।

विगतमा झडपका घटनाहरु हुने गरेका तराई मधेसका जिल्लामा समेत यसपालि शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भएको छ ।

निर्वाचन आयोगले विहीबार साँझ पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार करिब ६७ प्रतिशत मत खसेको अनुमान गरिएको छ । तर, यो प्रतिशत अरु बढ्न सक्छ ।

यद्यपि स्थानीय निर्वाचनमा भन्दा यसपालि कम प्रतिशत मत खसेको छ । पहिलो चरणमा मंसिर १० गते ६५ प्रतिशतमात्रै मत खसेको थियो । स्थानीय चुनावमा भन्दा किन कम मत खस्यो भन्ने विश्लेषणको विषय हो ।

यद्यपि आम निर्वाचनको समग्र स्थिति हेर्दाखेरि शान्ति र भयरहित वातावरण विगतको भन्दा अत्यन्तै राम्रो देखिएको छ ।

अब मतपेटिका संकलन र गणनामा कुनै अप्रिय घटना भएनन् भने यो चुनावलाई शान्ति सुरक्षाको दृष्टिले उच्च मान्नुपर्ने हुन्छ ।

पूर्वी पहाडमा शान्तिपूर्ण मतदान

प्रदेश नम्बर १ नं अन्तरगतका पहाडी जिल्ला तेह्रथुम र धनकुटामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भयो । त्यहाँ कतै पनि शान्तिका घटना भएनन् । अब मतपेटिकाहरु आजै राति सदरमुकाम ल्याएपछि भोलिदेखि ती जिल्लामा मतगणना हुने आयोगका कर्मचारीले बताएका छन् ।

तेह्रथुमको मतदान पनि शान्तिपूर्ण रुपमा सम्पन्न भयो । त्यहाँ नेपाली कांग्रेसबाट सीता गुरुङ र वाम गठबन्धनबाट एमाले नेता भवानी खापुङवीच तीव्र प्रतिस्पर्धा देखिएको स्थानीय मतदाताले बताएका छन् ।

धनकुटामा पनि कुनै अवरोधविना शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । ०६४ मा चुनावका बेला झडप भएर मान्छे मरे पनि यसपटक धनकुटामा कुनै पनि अप्रिय घटना भएन ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको अनि राप्रपा नेता सुनील थापा र एमाले नेता राजेन्द्र राईवीच प्रतिस्पर्धात्मक भोट खसेको आनन्दसन्तोषी राईले अनलाइनखबरलाई बताए ।

त्यस्तै, इलामबाट सहकर्मी सटेन्द्र जबेगुले दिएको जानकारीअनुसार जिल्लामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । इलाममा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

इलामको मतगणना पनि भोलि बिहानदेखि गरिने आयोगका कर्मचारीहरुले जानकारी दिएका छन् ।

उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उदयपुरमा ६० प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ ।

जिल्लामा शान्तिपूर्णरुपमा मतदान भएको शर्माले बताए ।

‘मतदाताले लाइनमा धेरैबेर बस्नुपरेन’, उनले भने, ‘बिहान ज्येष्ठ नागरिकहरुको बढी उपस्थिति देखियो भने दिउँसो युवाको बाक्लो उपस्थिति देखियो ।’