एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक बस्यो । निर्वाचन लगत्तै एकता गर्ने सहमतिमा पुगेका दुई दलबीचको एकता संयोजन समिति बैठकमा तीनवटा एजेन्डामा छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधवारथाइल्यान्ड जानुअघि पार्टी एकतालाई मूर्तरुप दिने निचोडमा पुगेका दुई दलबीचको आजको बैठकमा पार्टी एकताका लागि संयुक्त कार्यदल निर्माण, एकीकृत पार्टीको वैचारिक नीतिको स्वरुप निर्माण र सांगठानिक संरचनाबारे छलफल भएको छ ।

‘पार्टी एकताप्रक्रिया धेरै अगाडि बढिसकेको छ । दुई दलबीचको एकता संयोजन बैठकले तीनवटा एजेन्डामा छलफल गर्नेछ’, ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले भने, ‘यौ बैठकले एकता प्रक्रियालाई औपचारिकरुपमा अघि लानेछ ।

दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक नीति के हुने भन्ने विवादको निचोड निस्किसकेको छैन । एमालेले माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो प्रमुख विचार मान्दै आएको छ भने माओवादी केन्द्रले माओत्से तुङको विचारधारालाई प्रमुख मान्दै आएको छ ।

यो अवस्थामा एमालेभित्र वैचारिक नीतिलाई अझ धेरै विवाद छ

माओवादी केन्द्रमा पनि नयाँ पार्टीको वैचारिक नीतिमा विवाद छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबज नेपाली कम्युनिस्टको मौलिक विचार भएको भन्दै त्यसलाई स्वीकार्न समस्या नहुने बताइसकेका छन् ।
तर, यी दुई पार्टीको एकीकरणपछि बन्ने नयाँ पार्टीले मालेमावाद, माओवादी र जबजलाई मिलाएर एकीकृत वैचारिक नीति बनाउने याँ नयाँ विचार नीति अपनाउने कुराको निचोडमा पगिसकेका छैनन् ।

दुई पार्टीबीचमा सांगठनिक संरचनामा पनि विवाद रहेको छ । शीर्ष नेतालाई सबैभन्दा अफ्ठेरो पनि यसैले पारेको छ । दुवै पार्टीका नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने भएको पार्टी एकता संयोजन समितिमा यसबारे पनि छलफल हुँदैछ ।

पार्टीको नेतृत्व प्रणालीबारे दुई दलबीच सहमति जुट्न सकेको छैन । एमालेका केही नेताहरुले ओली प्रधानमन्त्रीसँगै पार्टीको अध्यक्ष पनि हुने बताउँदै आएका छन् ।

एमाले नेता शंकर पोखरेलसहितले नयाँ पार्टीको महाधिवेशन नहुनजेललाई दुई जना सह–अध्यक्ष हुने तर्क गर्दै आएका छन् । तर, ओली र दाहालबीच यसअघि भएका वान टु वान वार्ताको निचोडबारे अहिलेसम्म दुवै नेताले खुलासा गरिनसकेकाले दोस्रो तहका नेताका यी तर्क केबल बहसमै सीमित भएका छन् ।

एमाले भित्रै इश्वर पोखरेलसहतिका नेताले पनि बहुपदीयमा जान नहुने अडान राख्दै आएका छन् । त्यसैगरी माओवादी केन्द्रका नेताहरुले भने एकै व्यक्तिले बहुपद लिन नहुने बताउँदै ओली प्रधानमन्त्री भएको अवस्थामा दाहालले पार्टीको कमाण्ड सम्हाल्नुपर्ने तर्क गरिरहेका छन् । अर्कातिर अधिकार बाँडफाँट पनि सम्मानजनक हुनुपर्ने अडान माओवादीको तर्फबाट राखिएको छ ।
आइतबार साँझ ओली निवासमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले कार्यदल बनाई एकता प्रक्रिया अघि बढाउने जिम्मा उसैलाई दिने सहमति गरिएको थियो ।