सरोकारवालाहरु भन्छन्– ‘मानव बेचविखनका लागि वैदेशिक रोजगारी सजिलो बहाना’

maitrinews

काठमाडौँ । मानव बेचविखन तथा वैदेशिक रोजगारीबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिदै गएकोप्रति सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
जोन्ता इन्टरनेशनल, महिला विकास कानुन मञ्च र युएन वुमनलगायतका संस्थाले राजधानीमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा महिला विकास कानुन मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मानव बेचविखन तथा वैदेशिक रोजगारीबीच अन्तरसम्वन्धबारे कार्यपत्र प्रस्तुत गर्दै बदलिदो परिवेशसँगै मानिस वेचविखनको स्वरूपमा परिवर्तन भएको छ, वैदेशिक रोजगारी यसका लागि सजिलो बहाना भएको छ भन्नुभयो ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका कानुन उप–सचिव अर्जुन प्रसाद खनालले अहिले वैदेशिक रोजगार सम्वन्धी कानुन संशोधनको प्रक्रियामा छ, यस सन्दर्भमा मानव वेचविखन विरूद्ध काम गर्दै आएको थुपै्र सङ्घ संस्थाको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट निस्किएको निचोड, निष्कर्ष संशोधन प्रक्रियाका लागि पनि प्रभावकारी हुन सक्छ भन्नुभयो ।
नेपाल प्रहरीे महिला बालबालिका सेवा निर्देशनालयमा कार्यरत प्रहरी उपरिक्षक दीलिपसिंह देउवाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार विभागमै पनि सम्वन्धीत विज्ञ टोली सहभागी कमिटी गठन गर्न सके रोजगारीमा जाँदा ठगिएका पीडित नेपालीको उद्धार, क्षतिपूर्ति दिलाउने कार्यमा समन्वय गर्न प्रहरीलाई सजिलो हुने सुझाव दिनुभयो ।
त्यसैगरी महान्यायधिवक्ताको कार्यलयका सह–न्यायधिवक्ता कृष्णजीवि घिमिरेले वैदेशिक रोजगारीमा जाँदा वैधानिक बाटो अपनाएर, सम्वन्धीत सिप तालिम हासिल गरेर मात्र जान सके वेचविखनमा पर्न सक्ने सम्भावना कम भएपनि जोखिम मोलेरै त्यसतर्फ जानेको सङ्ख्या हरेक दिन बढेको छ, त्यसकारण पनि वैदेशिक रोजगार असुरक्षित बन्दै गएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी जोन्ता इन्टरनेशनलका प्रमुख सोन्जा ह्वाङसङ्घले जोन्ताले संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनसँग सहकार्य गरी नेपालमा काम गरिरहेकोबारे जानकारी दिंदै यहाँ काम गर्ने क्रममा महिला–पुरूषको असमान अधिकारको नकारात्मक प्रभावले महिलाको हक अधिकारलगायत थुप्रै क्षेत्र प्रभावित भएको अनुभव सुनाउनुभयो ।