मुख्यमन्त्रीमा सर्वसम्मत नभए चुनाव गर्ने एमालेको निर्णय


काठमाडौं । नेकपा एमालेले प्रदेशका मुख्यमन्त्रीमा सर्वसम्मती नभए चुनावबाट तय गर्ने निर्णय गरेको छ । मंगलवार केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले मुख्यमन्त्रीका दावेदारहरुबीच सर्वसम्मतीमा निर्णय नभए प्रदेशसभामा पार्टीबाट निर्वाचित सांसदहरुले संसदीय दलको बहुमतबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो ।

‘सर्वसम्मत हुन नसकेका ठाउँमा निर्वाचनबाट संसदीय दलको नेता चयन हुन्छ र संसदीय दलको नेता मुख्यमन्त्री हुन्छन्’ बैठकपछि उपाध्यक्ष बामदेव गौतमले भने । उनले प्रदेशसभाको बैठकले कार्यविधि तय गरेपछि मुख्यमन्त्री नियुक्त हुने पनि वताए । प्रदेश ५ मा स्थायी समिति सदस्य शंकर पोखरेललाई एमालेले संसदीय दलको नेता सर्वसम्मत चयन गरिसकेको छ भने अन्य प्रदेशमा एक भन्दा बढि दावेदार छन् ।

एमालेले राष्ट्रियसभाको निर्वाचन तयारी सम्बन्धी पनि छलफल गरेको छ । राष्ट्रियसभा चुनावमा मतदान गर्ने प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई २१ माघमा मतदान गर्ने तरिकाबारे प्रशिक्षण दिने तयारी एमालेले गरेको छ । ‘२४ गते राष्ट्रियसभा निर्वाचनको निम्ति मतदान हुन्छ, २१ गते हाम्रा जनप्रतिनिधिलाई तालिम दिने कार्यक्रम तय गरेका छौं’ उपाध्यक्ष गौतमले भने ।

एमाले बैठकले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले कुनै पनि हिसावले औचित्य पुष्टि नहुने अनैतिक निर्णय गरेको भन्दै एमालेले खेद ब्यक्त गरेको छ । अनधिकृत रुपमा कामचलाउ सरकारले गरेका सबै निर्णयहरु नयाँ सरकार बनेपछि बदर हुने एमालेले वताएको छ । ‘दैनिक कामचलाउ निर्णय बाहेक कामचलाउ सरकारले गरेका सवै निर्णय बदर हुन्छन्’ गौतमले भने, ‘यो सरकारले अनैतिक तवरले कुनै पनि हिसावले औचित्य पुष्टि हुन नसक्नेगरी निर्णय गरेको छ, ती बदर हुन्छन् ।’