प्रदेश २, ५, ६ र ७ को पहिलो बैठकको रौनकता

maitrinews

 

बुटवल ।  राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा आज अपराह्न शुरु भएको छ । 
प्रदेश नं ५का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गर्नुभएको थियो । बैठकको शुरुमा प्रदेश नं ५का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेश सदस्यलाई स्वागत गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त भएको अवसरमा सबैलाई बधाई दिनुभयो । 
“प्रदेश नं ५ लाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध बनाउने हाम्रो चाहना पूरा होस्”, उहाँले शुभकामना व्यक्त गर्दै भन्नुभयो । बैठकमा अहिले दलीय आधारमा प्रदेश सदस्यले बोल्ने क्रम जारी छ । यसपछि आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । सो प्रदेशसभामा कूल ८७ सदस्य छन् । 

यसअघि आज बिहान पहिलो बैठकमा प्रस्तुत गरिने बैठकका कार्यसूचीलाई प्रदेशसभाको सचिवालयले अन्तिम रुप दिएको थियो । उक्त सर्वदलीय बैठकले पाँच विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतिबाट निर्णय गरेको थियो । 

अपराह्न १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी गरिएको प्रदेशसभाको बैठक सहजीकरणमा आउनुभएका संघीय संसद्का सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति छ ।

 ४ वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश नम्बर २, ५, ६ र ७ नम्बर प्रदेशको पहिलो बैठक आज बस्न लागेको हो । प्रदेश नम्बर ७ को बैठकका लागि रातारात काम भइरहेको छ भने प्रदेश नम्बर २ मा त्यसैगरी काम भइरहेको छ ।

हलमा आवश्यक पूर्वाधारको काम पनि बाँकी नै रहेका छन् ।  प्रदेश नम्बर २ को बैठक शैक्षिक तालिमकेन्द्र जनकपुरधाममा बस्ने भएको छ । 

त्यसैगरी सो प्रदेशसभाको सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ । 

सर्वदलीय बैठकले मस्यौदाको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरी सो मिति निर्धारण गरेको जनाइएको छ । 

संघीय संसद् सचिवालयका उपसचिव वंशीराज पौडेलले मस्यौदामा सामान्य संशोधन गरिएको बताउँदै सभामुखको निर्वाचनको तालिका २९ गते निर्धारण गरिने जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ । 

बैठकले नियमावली मस्यौदा समिति गठन सम्बन्धमा विस्तृत छलफल गरी अर्को बैठकमा अन्तिम रुप दिने निर्णय गरेको छ । 

त्यस्तै बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ । 

प्रदेश नम्बर ५ को वुटवट उद्योग वाणिज्य संघको हलमा बैठक बस्ने भएको छ । त्यसका लागि बैठक कक्षमा आवश्यक पूर्वाधारको तयारी भइसकेको छ ।

प्रदेशसभा ६ को बैठक सञ्चालनका लागि कार्यविधि पनि तयार भइसकेको छ । आज दिउँसो प्रदेशसभाको बैठक बस्नेछ भने जेष्ठ सदस्य हिमबहादुर शाहीले सभा सञ्चालन गर्नेछन् । आजको बैठकमा प्रत्येक दलका एक एक जना प्रतिनिधिले संक्षिप्त मन्तव्य पनि राख्ने कार्यसूची तय भएको छ ।

प्रदेश नम्बर ७ को बैठक पनि धनगढमिा रहेको जिल्ला समन्वय समितिको हलमा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।