राष्ट्रियसभा निर्वाचनका लागि मौन अवघि सुरु

maitrinews

काठमाडौँ । २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घन्टाअघिदेखि मौन अवधि सुरु भएको जनाएको छ ।

सोमबारदेखि निर्वाचन सम्पन्न नहुन्जेल राजनीतिक दल, दलका उम्मेदवार, नागरिक समाज, आममतदाताले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, आयोगले मौन अवधिमा सञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशनरप्रसारण, मत सर्वेक्षण र त्यसको परिणाम प्रकाशन वा प्रसारण नगर्न निर्देशन दिएको छ । मौन अवधिमा निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षा सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै अप्ठ्यारो नहुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादातालाई नागरिकताको प्रमाणपत्रका आधारमा समेत मतदान गर्न दिने निर्णय गरेको छ । यसअघि आयोगले राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि मतदातासँग निर्वाचित भएको प्रमाणपत्र हुनुपर्ने व्यवस्था गरेको थियो ।

आयोगले आइतबार विज्ञप्ति निकालेर मतदाता नामावलीमा नाम भएमा निर्वाचित भएको प्रमाणपत्र नभए पनि परिचय खुल्ने अन्य परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको हो । यससँगै स्थानीय तह र प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र कारणवश हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय गरेको जनाएको छ ।