प्रदेश ३ को सभामुखमा श्रेष्ठ र उपसभामुखमा तामाङ

maitrinews

काठमाडौैं । नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेता डोरमणि पौडेल निर्वाचित भएलगत्तै सभामुख सानु श्रेष्ठ हुनुभएको छ ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराउँदै पौडेल शुक्रबार दलको नेता चयन हुनुभएको हो । । एमाले संस्थापन पक्षले पौडेललाई मुख्यमन्त्री र सानु श्रेष्ठलाई सभामुख बनाउने आन्तरिक सहमति गरेर दलको नेताको चुनावमा गएको हो ।
प्रदेश ३ को सभामुख निर्वाचन शनिबार भएको हो । संसदीय दलको नेता चयनसँगै अब सभामुखको उम्मेदवार तय गर्ने अधिकार पनि डोरमणिलाई भएको छ ।

सभामुख निर्वाचित सानु श्रेष्ठ एमाले पोलिटव्यूरो सदस्य हुनुहुन्छ । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्य निर्वाचित श्रेष्ठ पनि मुख्यमन्त्रीका दाबेदार हुनुहुन्थ्यो । उहाँलाई सभामुख बनाउने गरी ब्याक गरिएको हो ।

काठमाडौं जिल्ला विकास समितिको सभापति भइसकेका श्रेष्ठ पार्टीभित्र पूराना नेता हुनुहुन्छ ।

वाम भागवण्डामा उपसभामुख पाएको माओवादी केन्द्रले पनि उम्मेदवार टुंगो लगाएको छ ।

माओवादीबाट राधिका तामाङ उपसभामुखको उम्मेदवार हुनेछ । पूर्व राज्यमन्त्री समेत रहेकी तामाङ नुवाकोटबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँलाई उम्मेदवार बनाउने निर्णय भएको प्रदेश संयोजक शालिकराम जम्मरकट्टेलले बताउनुभयो ।
११० सदस्यीय प्रदेश ३ को प्रदेशसभामा एमाले एक्लैको बहुमत छ भने माओवादी समेत मिल्दा सभामुख र उपसभामुख दुबै चुनाव वाम गठबन्धनले जित्नेछ । एमालेको ५८ सांसद छ भने माओवादीको २३ सांसद छ ।