प्रदेश ३ र ५ मा सरकार गठन प्रक्रिया सुरु

maitrinews

बुटवल । वाम गठबन्धनले प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएको छ ।
एमाले र माओवादीले बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । ‘प्रदेश प्रमुखसामू आज दाबी पेश गर्छौं’ पोखरेलले भन्नुभयो ।

एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो र पोखरेल एमाले संसदीय दलका नेता भइसक्नुभएको छ ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्नुपर्नेछ ।

ढिलोमा भोलिसम्म मुख्यमन्त्री नियुक्ति हुने बताइएको छ ।
प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश सचिव शंकर पाठकसहित मुख्यमन्त्रीका उम्मेदवार शंकर पोखरेल, एमाले उपमहासचिव विष्णु पौडेल लगायतले आइतबार नै सपथ ग्रहण स्थान छनोटका लागि अनुगमन समेत गर्नुभएको छ ।
त्यसैगरी, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश ३ मा सरकार गठनको प्रक्रिया सुरु गरेका छन् ।
एमालेले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएलगतै सरकार गठन प्रक्रिया सुरु भएको हो ।
प्रदेश ३ मा एमालेको प्रष्ट बहुमत छ भने माओवादीले पनि पौडेललाई नै समर्थन गरेको छ ।
एमालेले पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी गरेको छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले आइतबार प्रदेश प्रमुखलाई पत्र पठाएर पौडेललाई समर्थन गरेको बताउनुभयो ।