माओवादी सहभागी गराएरमात्र मन्त्रिपरिषद् विस्तार गरिने

maitrinews

काठमाडौँ । आफूले नियुक्ति र शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रीमण्डल विस्तार नगर्ने हुनुभएको छ
बिहीबारै माओवादीलाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना भए पनि अन्तिममा आएर उक्त तयारी रद्द भएको थियो ।

माओवादीसँगको पार्टी एकताको टुङ्गो नलाग्नु र एमालेभित्रकै माधव नेपाल समूहको चित्त बुझाउनुपर्ने भएकाले ओलीलाई तत्काल मन्त्रिपरिषद विस्तार गर्न त्यति सहज नभएको जानकारहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार तत्काल मन्त्रीमण्डल विस्तारको कुनै तयारी भएको छैन । ‘प्रधानमन्त्रीको शुक्रबार दिनभर बाहिर जाने कार्यक्रम पनि छैन, पार्टीसँगको छलफल पनि तय भएको छैन, आज बधाई र शुभकामनाको मात्रै कार्यक्रम छ’, ओलीका प्रेश संयोजक चेतन अधिकारीले बताउनुभयो ।
एमाले–माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा अझै मिलेको छैन । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीले लिइसकेको छ । अब मन्त्रिपरिषद विस्तार गर्दा माअ‍ेवादीलाई नसमेट्ने हो भने अर्थ अर्कै लाग्ने भएकाले पनि ओलीले माओवादीलाई सहमतिमा ल्याएर मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्ने हुन्छ ।