संसदीय दलमा देउवा र सिंह भिड्ने

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफू चुनिएपछि मात्रै निर्वाचन समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने भएका छन् । प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरे पनि देउवा संसदीय दलको नेता भने आफैं हुने प्रयासमा लागेका हुन् ।

चुनाव समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बस्नु पर्ने र बैठकले महासमिति बैठक वा विशेष महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नु पर्ने आवाज कांग्रेस भित्र उठेको छ । तर, सभापति देउवा पहिले आफू संसदीय दलको नेता चयन भएपछि मात्रै केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लागेका हुन् ।
देउवा निकट स्रोतका अनुसार उनी पहिले संसदीय दलको चुनाव गराउने पक्षमा छन् । ‘केन्द्रीय कार्यसमितिको बैठक पनि बस्छ, चुनावी समीक्षा पनि हुन्छ । त्यसबारे चिन्ता गर्नुपर्ने केहि छैन’ देउवा निकट केन्द्रीय सदस्यले भने, ‘तर अव संसद बैठक हुन्छ, त्यो भन्दा अगाडि दलको नेता चयन त गर्नै पर्यो नि ।’

प्रतिनिधि सभामा प्रत्यक्ष २३ र समानुपातिक ४० गरी कांग्रेसका ६३ सांसद छन् । प्रत्यक्ष निर्वाचित सांसदमा वरिष्ठ नेता रामचन्द्र पौडेलको बहुमत भए पनि समानुपातिकमा देउवाले आफू निकटलाई सांसद बनाएका कारण देउवाको बहुमत छ । संसदीय दलको नेतामा आफू सहज जित्ने अवस्था रहेका कारण उनी पहिले संसदीय दलको नेताका लागि चुनाव गराउने र त्यसपछि मात्रै चुनावी समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारीमा छन् ।

कांग्रेसका दोस्रो तहका नेता भने देउवा र पौडेललाई विदा दिएर नयाँलाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छन् । उनीहरुले यसका लागि अभियान नै चलाए पनि सभापति देउवाले अभियन्ताहरु मध्येबाटै विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरि सो समुहमा फूट ल्याइसकेका छन् ।

संसदीय दलको नेतामा देउवा नै अग्रसर हुने भएपछि पौडेल समुहले भने पूर्व महामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने भएको छ । सिंहले पार्टीको हारको जिम्मेवारी लिंदै देउवाले नेतृत्वबाट विदा लिनुपर्ने कोन्द्रीय समितिको अघिल्लो बैठकमा माग गरेका थिए । प्रत्यक्ष निर्वाचित २३ सांसदमा सिंहको बहुमत रहेका पनि समानुपातिकमा देउवाले आफू अनुकूल निर्णय गरेकाले सहज जित हुने देउवाको आकलन छ । तर, प्रकाशमान सिंह उम्मेदवार भए देउवासँगको प्रतिस्पर्धामा जित्न सक्ने पौडेल पक्षले पनि दावी गरेको छ । ‘सभापतिज्यूले पार्टीको हारको जिम्मेवारी लिंदै संसदीय दलको नेतामा दावी नगर्नु राम्रो हुन्छ’ पौडेल निकट एक केन्द्रीय सदस्यले भने, ‘यदि उहाँ फेरि अग्रसर हुने हो भने आम कार्यकर्तामा नकारात्मक सन्देश जान्छ । अव नेतृत्व अर्को पुस्तामा जाँदैछ भन्ने सन्देश दिनका लागि पनि प्रकाशमान दाइ संसदीय दलको नेता बन्नु राम्रो हुन्छ ।’

गत माघ ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले निर्वाचन समीक्षाका लागि राष्ट्रिय सभा निर्वाचनलगत्तै अर्को बैठक बोलाउने भन्दै त्यतिबेला राष्ट्रिय सभाको निर्वाचनको एजेन्डामा मात्र बैठकमा प्रस्तुत गरेका थिए । निर्वाचनमा पार्टी हारेपछिको आक्रोश तत्काल मत्थर गर्न देउवाले यस्तो रणनीति लिएका थिए । अहिले उनी राष्ट्रपति, सभामुख र पार्टीको संसदीय दलको नेताको निर्वाचन देखाउँदै केन्द्रीय कार्यसमिति बैठक बोलाउन ढिलाइ गर्ने पक्षमा छन् ।