मन्त्री नपाएपछि सांसदद्वारा राजीनामा

maitrinews

सुर्खेत । प्रदेशसभामा निर्वाचित एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। प्रदेशसभाको सभामुख र मन्त्रीमा अवसर नदिएर पार्टीले आफूमाथि अन्याय गरेको भन्दै उनले राजीनामा दिएका हुन्। मुगुबाट निर्वाचित सांसद शाहीले आइतबार हुलाकमार्फत राजीनामा पत्र पठाएका छन्।

यसअघि उनी सभामुखका आकांक्षी थिए। एमालेभित्र सभामुखमा उनको चर्चा चले पनि अन्तिममा आएर दैलेखका राजबहादुर शाहीलाई एमालेले सभामुख बनाएको थियो। सभामुख नपाएका शाहीलाई मन्त्री बनाउने आश्वासन नेताहरुले दिएका थिए।

तर आइतबार बिस्तार भएको प्रदेश मन्त्रीपरिषद्मा उनी समावेश हुने सकेनन्। अन्तिम समयमा आएर पार्टीले धोका दिएको र अन्याय गरेको भन्दै सांसदबाट राजिनामा दिएको शाहीले बताए। एमालेका केन्द्रीय सल्लाकारसमेत रहेका शाहीले पार्टीको साधारण सदस्यबाट पनि राजिनामा दिएको जानकारी दिए।

आइतबार बिहानसम्म शाहीको नाम मन्त्रीको सूचीमा थियो। उक्त सूचीमा सांसद प्रकाश ज्वालाको नाम भने थिएन। तर ज्वालाले आफूलाई कुनै पनि हालतमा मन्त्री चाहिने भन्दै केन्द्रमा दबाव दिएपछि ज्वालाको नाम समावेश गरेर शाहीको नाम मन्त्रीको शपथ ग्रहण गराउने बेलामा हटाइएको थियो। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने शाही यसअघि २०५६ को संसदीय निर्वाचनमा पनि निर्वाचित भएका थिए।