एमाले स्थायी कमिटीले दियो मन्त्री छान्ने जिम्मेबारी प्रधानमन्त्री ओलीलाई, जनवर्गिय संगठनहरुको अधिवेशन र सम्मेलन स्थगन

maitrinews

 

काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । स्थायी कमिटीको बालुवाटारमा बसेको बैठकले माओवादी तथा मधेशवादी दलहरुसँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने जिम्मा ओलीलाई दिएको हो ।

एमालेले वाम गठबन्धनको बहुमत भए पनि दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न मधेशवादी दललाई पनि मन्त्रिपरिषदमा सामेल गर्न ओलीलाई म्याण्डेट दिएको पार्टी सचिव योगेश भट्टराईले बताउनुभयो । माओवादी, संघीय समाजवादी फोरम र राजपासँग ओलीले छलफल गर्ने उहाँले बताउनुभयो ।

भट्टराईले भन्नुभयो,माओवादी बाहेक पनि मधेशवादी दललाई समेत सामेल गराउने गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले फोरम र राजपासँग परामर्श गर्नुहुन्छ । त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिने जिम्मा उहाँलाई नै दिएको छ ।

पार्टीभित्रबाट मन्त्री छनोट गर्ने सन्दर्भमा प्रधामन्त्रीले स्थायी कमिटीका नेताहरुसँग राय परामर्श लिएर व्यक्ति आफैंले छान्ने भट्टराईले बताउनुभयो ।

बैठकले माओवादी केन्द्रसँग एकता प्रकृया अगाडि बढेका बेला एमालेका विभिन्न जनवर्गिय संगठनहरुको पूर्वनिर्धारित अधिवेशन र सम्मेलन पार्टी एकताको संवेदनशीलतालाई ध्यान दिँदै स्थगन गर्ने निर्णय गरेको छ ।