संघीय सांसदहरुले आज पद तथा गोपनियताको शपथ लिँदै

maitrinews


काठमाडौँ । संघीय संसद्को पहिलो बैठकको अघिल्लो दिन आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका ज्येष्ठ सदस्यले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदैछन्।

शपथसँगै संघीय संसद्लाई विधिवत् काम थाल्न बाटो खुल्नेछ।

ज्येष्ठ सदस्यको उमेरबारे विवाद भइरहँदा संसद् सचिवालयले निर्वाचन आयोगबाट उपलब्ध प्रमाणका आधारमा शपथ गराउने ज्येष्ठ सदस्यको नाम निर्धारण गरिएको जनाएको छ।

तर कतिपय विज्ञले वास्तविक उमेर र नागरिकताको उमेरबीच धेरै अन्तर देखिँदा पनि नसच्याइएको भन्दै आलोचना गरेका छन्।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्यहरूलाई ज्येष्ठ सदस्यको हैसियतमा राष्ट्रिय जनता पार्टीका महिन्द्र राय यादव र राष्ट्रिय सभा सदस्यहरूलाई कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको छ।

त्यसअघि ती दुई सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन्।

वि। सं। २०११ सालमा जन्मिएका यादवको वास्तविक उमेर ६३ वर्ष भए पनि नागरिकताको जन्ममितिका आधारमा उनी ८० वर्षका अर्थात् सबैभन्दा पाको उमेरका भएका हुन्।