भण्डारीद्वारा राष्ट्रपतिमा पुनः उम्मेदवारी दर्ता

maitrinews

 

 

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उहाँले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

बुधबार दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताउनुभएको छ । 

दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीको “राष्ट्रपतिको भूमिका तटस्ग भएन भन्ने आरोप छ नि” भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “यो कसैकसैको आरोप हो, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ । यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु । ” 
देशको हितलाई सर्वाेपरि राखेर नेपालको संविधानको मूल भावना र मर्मअनुरुप आफूले काम गरेको बताउँदै उहाँले भन्नुभयो, “यहाँहरुले त्यसको राम्रो मूल्यांकन गर्नुहुनेछ ।” 

आफूले उम्मेदवारी दिएपछि सबैजसो राजनीतिक दलबाट समर्थन पाएको बताउँदै राष्ट्रपति भण्डारीले निर्वाचनमण्डलबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दल, सांसद र सञ्चार क्षेत्रबाट हालसम्म पु¥याइएको समर्थन तथा भोलिका दिनको सहयोगका लागि आभार र कृतज्ञता प्रकट गर्नुभयो । 
यसैबीच नेकपा (एमाले)का नेता सुवास नेम्वाङले नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिका रुपमा छोटो कार्यकालमा राष्ट्रपति भण्डारीबाट निर्वाह भएको भूमिकालाई ध्यानमा राखेर पार्टीले दोस्रो कार्यकालका लागि उहाँलाई नै उम्मेदवार छनोट गरेको प्रतिक्रिया दिनुभयो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनुलाई आफूले सम्मानकै रुपमा ग्रहण गरेको उहाँले बताउनुभयो ।

नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम गठबन्धनका तर्फबाट पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी स्थायी कमिटी बैठकले सर्वसम्मतरुपमा उक्त निर्णय गरेको एमाले स्थायी कमिटिका एकजना सदस्य विष्णु पौडेलले जानकारी दिनुभयो ।

पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा राखेका विवरणहरू आएका थिए।

राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउन सत्तासीन नेकपा एमाले स्थायी समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार मध्यरातीसम्म चलेको थियो।

संविधान जारी भएसँगै निर्वाचित भएकी वर्तमान राष्ट्रपति भण्डारीले दोहोरिने चाहना व्यक्त गरेको बताइए पनि एमाले पार्टीको नेतृत्व सम्हालीसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा व्यक्त गर्नुभएको थियो ।
वर्तमान राष्ट्रपतिलाई नै दोहोर्याउने या नयाँ उम्मेदवार अगाडी सार्ने भन्ने बारेमा छलफल चलेको प्रधानमन्त्रीको प्रेस संयोजकका रुपमा काम गरिरेहका चेतन अधिकारीले बताउनुभयो।
एमाले पार्टी अध्यक्ष निकट एक नेताका अनुसार भण्डारीले राष्ट्रपतिको भूमिकामा रहेर प्रभावकारी कार्यसम्पादन गरेको र उनको भूमिका विवादमुक्त रहेको बताउँदै पार्टीका वरिष्ठ नेताहरुले उनलाई नै दोहोर्याउन ठिक हुने बताएका थिए।
राष्ट्रपतिको निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ।