भ्रष्टचार गर्ने जोकसैलाई नछाड्ने प्रधानमन्त्रीको चेतावनी

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टचार गर्ने जोकसैलाई नछाड्ने चेतावनी दिनुभएको छ ।

शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा निर्माण हुने ६५० शैय्याको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टचार नगर्ने र अरु कसैले भ्रष्टचार गरे त्यसलाई पनि नछोड्ने चेतावनी दिनुभएको हो ।

‘म र मेरो नेतृत्वको सरकारले भ्रष्टचार गर्दैन, गर्ने कसैलाई छोड्दैन, म भ्रष्टचार सहन्नँ । यदि कसैलाई थकाइ लागे छोडे हुन्छ अर्को आउँछ काम गर्छ । मलाई पनि काम गर्न थकाई लागे वा मन नलागे बाटो छोडिदिन्छु,’ प्रधानमन्त्री ओली सम्बोधन गर्दै भन्नुभयो, ‘अब मुलुकको प्रगति र विकासको बाधक हुने छुट कसैलाई छैन ।’

उहाँले शिलान्यास भएका योजनाहरु समयमै पुरा हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

‘शिलान्यास भएका योजना समयमै सकिनुपर्छ, एउटै पुल ११ पटकसम्म शिलान्यास गर्ने परम्पराको अन्त्य हुन्छ । त्यसका लागि संरचनाहरुलाई गतिशिल बनाइन्छ, अनुगमनमा गएको मान्छेमाथि पुनः अनुगमन भइरहन्छ । ’

प्रधानमन्त्री ओलीले सरकारी अस्पतालभन्दा नीजि अस्पताल राम्रा हुन्छन् भन्ने सोच गलत भइसकेको भन्दै प्रधानमन्त्री ओलीले नीजि अस्पतालमा हुने लापरवाही कस्तो हुन्छ भन्ने हालै देब्रे खुट्टाको अप्रेशन गर्न जाँदा दाहिनेको अप्रेशन भएको घटना स्मरण गर्नुभयो ।

उहाँले अस्पतालको नामै नलिई अप्रेशन गर्ने डाक्टरलाई नै के को अप्रेशन गर्दैछु भन्ने थाहा नहुनु बिडम्बना भएको टिप्पणी गर्नुभयो ।