प्रधानमन्त्री ओलीलाई दुईतिहाईभन्दा बढीको विश्वास मत प्राप्त,भ्रष्टाचार हुन नदिने प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत लिनुभएको छ । उहाँलाई दुईतिहाइभन्दा बढी सांसदले समर्थन गरेका छन् ।
ओलीलाई संघीय समाजवादी फोरम र राजपा नेपालले समेत समर्थन गरे ।
फोरमले यसअघि नै ओली सरकारमा सहभागि हुने निर्णय लिइसकेको हुनाले स्वाभाविक रुपमा ओली सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीको पक्षमा ७७ दशमलव ६६ प्रतिशत मत, संसद्मै नेपाल भावुक बन्नुभयो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैँ आफ्नो पक्षमा ७७ दशमलव ६६ प्रतिशत मत ल्याउन सफल हुनुभएको छ । संसद्को इतिहासमा यो निकै महत्वपूर्ण मत हो । गत फागुन ३ मा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत माग्नुभएको थियो । उहाँलाई वाम गठबन्धनमा सहभागी दलले मात्र होइन कुनै समय सबै भन्दा बढी आलोचना गर्ने मधेसवादी दलले पनि उहाँलाई मत दिएका छन् । संघीय समाजवादी फोरम र राजपा कुनै समय संविधानको विरोध गर्दै संविधान जलाउँदै हिडेका दिए । तर, अहिले ती दलसमेत ओलीलाई स्थायी सरकारको प्रधानमन्त्री देख्न आतुर बन्नुले प्रधानमन्त्री ओलीको लोकप्रियता थप प्रमाणित भएको छ । उहाँको पक्षमा ७७ दशमलव ६६ प्रतिशत मत खस्नु चानचुने कुरा नभएको विश्लेषकहरुले बताएका छन् ।
संसदमा कुल मत २ सय ७५ मध्ये २ सय ६८ मत खस्यो भने प्रस्तावको पक्षमा २ सय ८ र विपक्षमा ६० मत खस्यो । सत्तारुढ एमाले र माओवादीसँगै संघीय समाजवादी फोरम र राजपाले पनि ओलीको पक्षमै मतदान गरे । विगतमा ओलीको सबै भन्दा बढी आलोचना गने मधेसवादी दलले समेत मत हालेपछि ओलीको पक्षमा दुईतिहाई भन्दा बढी मत खसेको हो । कांग्रेसले पनि जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने भन्दै ओलीको विपक्षमा मतदान गर्यो । यद्यपि कांग्रेसले पनि ओलीबाट जनताले धेरै अपेक्षा गरेको बताएको छ । कांग्रेस संसदीय दलका नेता विजयकुमार गच्छदारले संसद्बाटै प्रधानमन्त्री ओलीसँग जनताले धेरै अपेक्षा गरेको बताउनुभयो । उहाँले सरकारलाई हनिमून मनाउन दिने भन्दै १०० दिन सरकारको हनिमून हुने र त्यतिबेलासम्म पनि काम नभए रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो । राजपाले ओलीको बोलीमा विश्वास छ भन्दै पक्षमा भोट हाल्यो भने सरकारमा नजाने बतायो । प्रचण्डले प्रधानमन्त्रीलाई भाषण होइन, एक्सनमा उत्रन सुझाव दिनुभयो । ‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन्,’ उहाँले भन्नुभयो ‘अब केही हुन्छ कि भनेर निराश भएको धेरै भयो । एक्सनमा उत्रनुहोस् ।’

पहिलो पटक ओली प्रधानमन्त्री बन्दा ओलीको पक्षमा खुलेर लागेको नेमकिपाले भने यस पटक ओलीलाई मत दिएन । एक सिट मात्र रहेको नयाँ शक्ति बैठकै उपस्थित भएन । नयाँशक्तिबाट डा. बाबुराम भट्टराई संसद् हुनुहुन्छ । ओलीले संसद्लाई सम्वोधन गर्दै भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्नुभयो भने कांग्रेस नेता गगन थापाले चुनावी बाचा सम्झाउँदै चुनावी बाचा पूरा गर्नका लागि आइतबारबाटै सरकारको दिनगन्ती सुरु भएको बताउनुभयो । संसदलाई सम्वोधन गर्दै ओलीले भन्नुभयो– ‘समयको सीमा हुन्छ । अवधीको सीमा । सामथ्र्यको सीमा हुन्छ, मेरा पनि सीमा छन् । केही सांसदहरुले मलाई भोट दिनुहुन्नहोला तर तपाईँ बाहिर निस्कँदा ड्राइभरले केपी ओलीलाई भोट दिनुभएन ? भनेर सोध्लान् । घरमा खाना खान दिने बेलामा केपी ओलीलाई भोट दिनुभएन ? भनेर पनि सोध्नेछन् । भोट नदिए पनि चिन्ता नलिनुस् देश बन्छ ढुक्क भएर निदाउनुहोला ।’
एमाले वरिष्ठ नेता नेपालले ओलीको पक्षमा मत माग्दै उहाँबाट जनताले धेरै आशा गरेको बताउनुभयो । ‘देश समस्या नै समस्याले गुज्रिएको छ अझै हामी कति यो अवस्थामा रहने,’ निकै भाबूक हुँदै उहाँले भन्नुभयो, ‘देशलाई निकास दिने क्षमता ओलीजीसँग छ । एक पटक उहाँलाई काम गर्ने मौका दिनुहोला ।’

यस्तै आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनभयो ।

तथ्यांक केलाउँदा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये २०९ सांसदको समर्थन देखिएको छ ।

जवकी दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।

राजनीतिक स्थिरतासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिको एजेण्डा ओली नेतृत्वको सरकारले बोकेको छ ।

प्रधानमन्त्री ओलीलाई एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ र फोरमका १६ सांसदको समर्थन रहने रहेको छ ।

त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्नुभयो ।

ओलीको विपक्षमा नेपाली कांग्रेस र एक सिट रहेको नयाँ शक्तिमात्रै छ । यद्यपि नयाँ शक्तिका सांसद तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हाल देशबाहिर हुनुहुन्छ ।
अहिले संसदमा कांग्रेसका जम्मा ६३ सांसद छन् । जवकी एक चौथाई मत बनाउन कांग्रेसलाई ६९ सांसद आवश्यक पर्छ ।
एक चौथाइ सांसद नहुँदा कांग्रेसले कुनै विशेष प्रस्तावसमेत संसद्मा दर्ता गर्न सक्दैन ।राष्ट्रपतिबाट नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

संघीय संसदको प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्नुभयो । विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफु कुर्सीमा बस्नका लागि मात्रै प्रधानमन्त्री नभएको र केही गरौँ भन्नका लागि प्रधानमन्त्री बनेको बताउनुभयो ।

उहाँले अब विकास निर्माणले गति लिने र जनताका समस्या दूर हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ ।’