ढिलोमा २२ अप्रिलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुन्छः विष्णु पौडेल

maitrinews


काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले नेकपा एमाले र माओवादीबीचको पार्टी एकता प्रक्रिया प्रभावकारी ढंगले अघि बढाएको भन्दै केही दिनमै दुई पार्टीबीच एकता हुने बताउनु भएको छ । उहाँले दुई पार्टीलाई व्यापक रुपमा एकता गर्नका लागि, साझा विधान निर्माण गर्नका लागि र एकता प्रक्रियालाई पूर्णता दिनका लागि दुई वटा कार्यदल बनेको भन्दै कार्यदलहरुले काम गरिरहेको पनि बताउनुभयो । उहाँले छिट्टै कार्यदलले प्रतिवेदन प्रस्तुत दाबी पनि गनुभयो । ‘मेरो विचारमा एकता प्रक्रियाले छिट्टै पूर्णता पाउँछ । अहिले तिथिमिति नै तोक्न त मलाई मुस्किल छ तर केही हप्ता भित्र एकता प्रक्रियाले पूर्णता पाउँछ,’ मैत्रिन्युजसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘ समयावधिका हिसावले नेपाल कम्युनिष्ट पार्टीको इतिहासका कारण २२ अप्रिल नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पनि हो । म त्यही दिन कम्युनिष्ट पार्टीबीच एकताको घोषण होस भन्ने चाहन्छु । हाम्रो तयारी पनि त्यही छ । मेरो विचारमा जनताले ढिलोमा २२ अप्रिलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको देख्न सक्नेछन् ।
उहाँले इतिहासका सबै कुराको विश्लेषण गर्दै, विभाजित कम्युनिष्ट आन्दोलनका बारेमा समिक्षा गर्दै दुई पार्टीबीच एकता हुँदा मुुलुकले प्राप्त गर्ने उपलब्धी सबैको विवेचना गरेर एक हुने प्रक्रियामा अघि बढेको पनि बताउनुभयो । ‘यी दुई पार्टीबीच विभाजन हुँदा नेपाली जनताले पाउँने सास्तीका बारेमा पनि हामीले खुलेर बहस गर्यौँ । हामीले अन्तिममा दुई पार्टी एक हुँदा मुलुकको भविष्य कस्तो हुन्छ ? नेपाली जनताले कति उपलब्धी हाँसिल गर्न सक्छन् ? भन्ने कुरालाई ध्यानमा राखेर नै एकताको प्रक्रिया अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो । उहाँले पार्टी एकतालाई वैयक्ति विषय भन्दा माथि ठानेर नै एकता प्रक्रिया अघि बढाएको भन्दै एकता प्रक्रिया टुंगिन्छ कि ? टुंगिदैन कि ? एकता हुन्छ कि ? हुँदैन कि ? भनेर आशंका गरिरहनु पर्ने कुनै कारण नभएको दाबी गर्नुभयो । ‘आशंका गर्नेले गर्दै रहे हामीले एकता प्रक्रियालाई अघि बढाउँदै गयौँ,’ उहाँले भन्नुभयो, ‘अब एकता प्रक्रियाले पूर्णता पाउँछ ।’ उहाँले हिजोको परिस्थिति र अहिलेको परिस्थितिमा निकै फरक छ भन्दै भन्नुभयो– ‘हिजो यो सरकार कहिलेसम्म टिक्ला भन्ने प्रश्न थियो । अहिले त्यो अवस्था छैन । आज हामी दुई पार्टी एक ठाउँमा छौँ । हामीसँग करिब दुई–तिहाई बहुमत छ । अब राजनीतिक अस्थिरताको प्रश्न जनताको मनबाट हटिसकेको छ ।’
उहाँले प्रधानमन्त्री केपी ओलीले ज्युले पहिलो पटक प्रधानमन्त्री हुँदा राखेका प्रतिवद्धता पूरा हुने प्रतिवद्धता पनि व्यक्त गनुभयो । ‘हामीले चुनावी मैदानमा जाँदा पनि साझा घोषणापत्र बनाएर अघि बढेका थियौँ । त्यसैले ती सबै घोषणा पूरा गर्ने यो उपयुक्त बेला हो । म के कुरामा विश्वस्त छु भने हामीले अघि सारेका घोषणापत्रले पूर्णता पाउने बेला हो । देश शुखी र समृद्ध नेपाल निर्माण गर्छौँ । यो हाम्रो प्रतिवद्धता पनि हो । हामी सबैले प्रधानमन्त्रीज्युलाई सहयोग गरेर अघि बढ्ने हो,’ उहाँले भन्नुभयो ।’ उहाँले तेल र रेलको सपना पूरा हुने पनि दाबी गर्नुभयो ।