सरकारले चाँडै पूर्णता पाउने छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।

राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उहाँले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताउनुभयो ।

संविधान र कानून बमोजिम संवैधानिक अंगहरुलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसैगरीपूर्व प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताउनुभएको छ ।

संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो ।

“स्थानीय तहको निर्वाचनसँगै शुरु भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रुपमा पूरा भएको छ, निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन्, अबको यात्रा विकास र समृद्धितिर हुनेछ”, उहाँले भन्नुभयो ।

सरकारले कहिले पूर्णता पाउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो ।