राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित

maitrinews


काठमाडौं । राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका उम्मेदवार कुमारीलक्ष्मी राईलाई पराजित गर्नुभएको हो । आज राष्ट्रपति चयनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान भयो ।
संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भयो ।राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु भयो ।
प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले मतदान गर्नुभएन ।

प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिस्पर्धा भयो । गणतन्त्र नेपालले डा रामवरण यादव र भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।
राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् प्रतिनिधिसभा, राष्ट्रियसभाका ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ । मतदानमा ८६२ जनाले भाग लिए । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार संघीय संसद् ३२६ र प्रदेशसभाका ५३६ जनाले मतदान गरेका छन् ।
राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले संघीय संसद्का एक जना सांसदले दिएको मत ७९ मत बराबर कायम गरेको थियो भने प्रदेशसभाका सदस्यले दिएको मत ४८ मत बराबर कायम गरेको थियो।

संघीय संसद् र प्रदेशसभाका गरी कुल ८८० जना सांसद मतदाता रहने संवैधानिक व्यवस्था रहेको छ।

कायम गरिएको मतभारअनुसार भण्डारीको पक्षमा ३९,२९५ मत र उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईका पक्षमा ११,७३० मत परेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।