उपसभामुखमा वाम गठबन्धनबाट शिवमाया र काँग्रेसबाट पुष्पाले दिए उम्मेदवारी

maitrinews

काठमाडौँ । वाम गठबन्धनबाट उपसभामुखमा शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिएकी छन्। आज दिउँसो करिव साढे १ बजे उनले उम्मेदवारी दिएकी हुन्। उनको प्रस्तावकमा देव गुरुङ र समर्थका रवीन्द्र अधिकारी रहेका छन्।
प्रतिनिधिसभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिएकी छन् । उनले संसद भवनमा बिहीबार पौने १ बजे उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेका छन् ।

उम्मेदवारी दिएपछि उनले प्रतिपक्षीले संसदमा प्रभावकारी भूमिका खेल्ने भएकोले सरकार पक्षले आफूलाई समर्थन गर्नुपर्ने बताइन्।

यसअघि कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन
चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले बिहीबार उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित भएकी थिइन्।

संघीय संसद् सचिवालयले शुक्राबार चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए।
उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो। सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन्।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो।
त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ।