चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य – पर्यटनमन्त्री अधिकारी

maitrinews

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री रविन्द्र अधिकारीज्यूले विभागीय मन्त्रीका हैसियतले बुधवार विहान चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गर्नुभयो । भ्रमणमा आउनु भएका माननीय मन्त्रीज्यूलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले स्वागत गदै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
भ्रमणका क्रममा उपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानी गदै माननीय मन्त्रीज्यूले सडकसंजाल र विमानस्थल जस्ता मुख्य मुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताउनुभयो । पर्यटकीय पूर्वाधार निमार्ण भईसकेपछि पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिदै भन्नुभयो तब मात्र चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्दछ ।
सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्रयाउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताउनुभयो । संक्षिप्त प्रतिक्रियाकै क्रममा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागी सुरक्षित रहेको बताउनुभयो ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेकै एक हप्ता भित्रमा मन्त्रीज्यूले यस चन्द्रागिरि परियोजनाको भ्रमण गरि आफु र आफ्नो समुहलाई हौसला प्रदान गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।