‘नेपाल—चीन रिलेसन्स’सम्बन्धी पुस्तक सार्वजनिक,नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ :ओली

maitrinews

काठमाडौँ । ‘नेपाल—चीन रिलेसन्स’ नामक पुस्तक सार्वजनिक भएको छ । माधवजी श्रेष्ठ र प्राडा अन्जान शाक्यद्वारा सम्पादित सो पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित समारोहमा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले दुई छिमेकी भारत र चीनसँगको सम्बन्धलाई खदिलो र भरिलो बनाउन चाहन्छौँ । हामीले फाइदालेमात्र होइन सम्मानले असल सम्बन्ध बनाउन चाहन्छौँ ।
उहाँले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता,भौगोलिक अखण्डताको सबैले सम्मान गर्नुपर्छभन्दै अब हिंसाको राजनीतिको कुनै औचित्य छैन भन्नुभयो । उहाँले सामाजिक सदभाव खलबलाउने कुनै पनि गतिविधि सह्य नहुने पनि स्पष्ट पार्नुभयो ।


प्रधानमन्त्री ओलीले भन्नुभयो, चीनले नेपालको सधै सम्मान गरेको छ । नेपालप्रति सधै सकारात्मक छ । चीन नेपालको सच्चा विकास साझेदार हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।
उहाँले एक प्रसँगमा हामी गैँडा भएका देशक नागरिक हौँ, हामीलाई कसले कस्तो व्यवहार गर्छ भन्ने कुरा थाहा पाउँछौँ भन्नुभयो ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सधै भारत र चीनसितको सम्बन्धलाई सन्तुलित र मर्यादित बनाउन चाहेको बताउँदै सन्तुलित सम्बन्धले सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्री तथा काँगे्रस नेत्री सुजाता कोइरालाले चाइना नेपालप्रति सकारात्मक छ, भूपरिवेष्ठित मुलुक नेपाल चाइनाको कनेक्टिभिटीसँग जोडिन आवश्यक छ भन्नुभयो ।
उहाँले चीन र भारतसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न ओली सरकारलाई सफलता मिलोस् भन्ने कामना पनि गर्नुभयो ।
त्यसैगरी, नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपालको विकासका लागि चीन सहयोगी बन्ने बताउनुभयो ।


सो पुस्तकबारे जानकारी गराउनुहुँदै समारोहका सभापति तथा अन्तर्राष्ट्रिय सरोकार केन्द्रका अध्यक्ष प्राडा अन्जान शाक्यले नेपाल—चीन सम्बन्धका विषयमा २५ जना लेखकको सान्दर्भिक लेख समावेश गरिएको पुस्तक नेपाल र चीनबारे जान्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल र चीनबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभएर जनस्तरमा समेत प्रगाढ रहेको बताउनुभयो ।