संघीय संसदमा राष्ट्रपतिको पहिलो ऐतिहासिक सम्बोधन (सम्बोधनको प्रत्यक्ष प्रशारण)

maitrinews

 


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन गर्नुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई आज अपराह्न ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन भएको हो । नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोस्रो नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको यो पहिलो पटक हो ।

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्नुभयो ।
बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नुभयो । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता थियो ।