विद्युत महसुल ५ अर्ब रुपियाँ उठाउने काम चुनौतीपूर्ण

maitrinews

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता महसुल करिब पाँच अर्ब रुपैयाँ पुगेको र त्यस मध्ये काठमाडौँ महानगरपालिकाले सडक बत्तीको बाँकी मात्रै करिब १ अर्ब १३ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताएको छ।
महसुल नतिर्ने ठूला ग्राहकहरूमध्ये स्थानीय तहहरू प्रमुख रहेको बताउँदै उसले वर्षौँ यता उठ्न नसकेका महसुल उठाउन ताकेता गरिएको जनाएको छ।

तर काठमाडौँ महानगरपालिकाले भने उक्त दाबी सहि नभएको बताएको छ।

प्राधिकरणले विद्युत महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने र कतिपयको विद्युत सेवा नै काटिदिने गरेको छ।

सबैभन्दा धेरै बक्यौता महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुको रहेको प्राधिकरणको भनाइ छ।

स्थानीय तहको निर्वाचनपछि पनि उनीहरूबाट रकम असुल गर्न कठिन भइरहेको उसको भनाइ छ।

नगरपालिकाहरूले तिर्नु पर्ने सडक बत्तीको महसुलका अतिरिक्त सुरक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरूले पनि वर्षौँदेखि विद्युत महसुल नतिरेको प्राधिकरणको भनाइ छ।

स्थानीय तहबाट असुल गर्नुपर्ने महसुलबारे प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका एक अधिकारी राजन बिष्टले भने, सबैभन्दा धेरै रकम सडक बत्तीको छ। बाँकी रकम असुल गर्नका लागि हामीले पहल गरिराखेका छौं। मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई तिर्नुपर्ने रकमको विवरण पठाएका छौं।