जनताले परिवर्तन महसुस गर्ने खालका नीति निर्माणमा लाग्नुपर्छः— पूर्वप्रम खनाल

maitrinews


काठमाडौँ । नेकपा एमालेका पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै नेपालीले अधिकारको महसुस गर्नेगरी संविधान निर्माण गरेको भन्दै सोही संविधानले दिएको कार्यक्षेत्रमा रहेर निर्माण भएका सात प्रदेश सरकार, एक केन्द्रीय सरकार र स्थानीय सरकारले आफ्नो जिम्मेवारीलाई कडाइका साथ पूरा गर्नु जरुरी कताउनु भएको छ । ‘अहिले विभाजित सबै निकायले हामीसँग भएको स्रोत र साधनमा निर्भर रहेर, त्यसको ठीक ठंगले प्रयोग गरेर विकास निर्माणका क्षेत्रमा अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘जनताले परिवर्तन महसुस गर्ने खालका नीति निर्माणमा लाग्नुपर्छ । नयाँ कार्ययोजना बनाउन सक्नुपर्छ । त्यसलाई सञ्चालन गरी तोकिएको लक्ष्य पूरा गर्ने दिशामा अग्रसर हुन आवश्यक छ ।’
उहाँले राज्यमा सुशासन कायम गर्नु सबैभन्दा ठूलो चुनौती भएको पनि प्रष्ट पार्नुभयो । ‘भ्रष्टाचारको अन्त्य गर्न अहिलेको सरकार लागि परेको पनि छ र रोक्नु जरुरी छ । सबैतिर मौलाइरहेको भ्रष्टाचारी प्रवृत्ति अन्त्य गर्न सके आधा नेपाल स्वतः विकास हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले सरकारले स्थानीय प्रशासनलाई पनि आफ्नो जिम्मेवारी बोध हुने खालका काम दिएर उनीहरुबाट पनि नतिजामुखी कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाउनु जरुरी छ । यो सहज काम पक्कै छैन । तर, स्थीर सरकार भएकाले धेरै कठिन पनि छैन ।’
उहाँले सहज व्यवस्थापनसहित सरकार र सरकारको अंगका रुपमा रहेका प्रदेश अनि स्थानीय निकायले मजवुद भएर अघि बढ्नुपर्छ भन्नुभयो । ‘कतैकतै केन्द्र सरकारले स्थानीय तहलाई अधिकार दिएन भन्ने गरेको गुनासो पनि सुनिन्छ । तर, त्यसो होइन,’ उहाँले थप्नुभयो, ‘संविधानले दिएका सम्पूर्ण अधिकार सबैले नै पाउने हो । संविधान नै पूर्ण रुपमा अध्ययन नगरी गरिएका विश्लेषणले कहिलेकाँही अफ्ठेरो स्थिति पनि सिर्जना हुन्छ । त्यसैले पहिलो काम संविधान कार्यान्वयनको हो । संविधान कार्यान्वयन भएपछि नपुग कानुन बनिसकेका हुनेछन् । अहिले स्थानीय निकाय, प्रदेशका प्रतिनिधिले कतव्र्य पूरा गर्ने हो । अधिकार मात्र खोज्नेले विकास गर्दैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।’