भारत भ्रमणबारे प्रमद्वारा पूर्वप्रधानहरुसित छलफल,नेपाल— भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा

maitrinews

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणवारे पूर्वप्रधानमन्त्री तथा प्रबुद्ध समुहका सदस्यहरुसँग छलफल गर्नुभएको छ ।

बुधबार बिहान पूवप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले भारत भ्रमणबारे परामर्श गर्नुभएको हो । प्रधानमन्त्री ओली तीन दिने राजकीय भ्रमणका लागि शुक्रवार भारत जाँदै हुनुहुन्छ । पूर्वप्रमहरुसँग छलफल अघि बढाउँदै प्रधानमन्त्रीले भारत भ्रमण सद्भावना भ्रमण भएको बताउनुभयो ।  

उहाँले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पार्नुभयो । “यसपालीको भ्रमणमा कुनै सन्धी सम्झौता हुँदैनन् । देशको अहितमा कुनै काम गरिदैंन । विगतका सन्धीसम्झौता कार्यन्वयनमा जोड दिइने छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल,माधवकुमार नेपाल,झलनाथ खनाल,शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थिती थियो । 

पूर्वप्रधानमन्त्रीहरुले  प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिनुभएको थियो ।  नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँहरुले पुरानो मानसिकता राखेर २१ औं शताब्दीको सम्बन्ध विकाश गर्न नसकिने बताउनुभएको थियोे ।

पूर्वप्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । उहाँँले नेपाल भारत सम्बन्ध “भाइ भाइको हैन मित्र÷मित्र जस्तो हुनुपर्ने” बताउनुभयो । 
पूर्वप्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल–भारत सम्बन्ध अहिले सुधार भएको बताउनुभयो । उहाँहले  भन्नुभयो “भारतलाई हामी संविधान कार्यन्वयनमा गइसक्यौं, खास समस्या छैन भनेर बुझाउनुपर्छ । ”

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताउनुभयो । छलफलमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाल भारत प्रवुद्ध व्यक्ति समुहको पनि प्रतिनिधित्व थियो ।