यातायात सिन्डिकेटविरुद्ध सरकार, रुट इजाजत खुला

maitrinews

 

काठमाडौं ।  सरकार यातायात सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ ।  कोटेश्वरपूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायीलाई उक्त रुटमा इजाजात खुला गरेको छ  ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायाण भट्टराईले जो आएपनि आज एकै दिनमा इजाजात दिने बताएका छन् । 

‘जो आए पनि आजै रुट इजाजत दिन्छौं । ब्यवसायीको इच्छाअनुरुप अस्थायी या स्थायी दुबै इजाजत दिने निर्णय भयो’ भट्टराईले भने,‘धुलिखेलसम्म बस चलाउन चाहानेले आजै इजाजत पाउँछन् । सरकारले सो रुटमा चल्ने बसलाई सुरक्षा पनि दिन्छ ।’  

विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो ।मयुर यातायातले काठमाडौं–बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका छन् । मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ । मयुरलाई रोक्न उनीहरुले माग गर्दै हड्ताल गरेपछि सरकार कडा रुपमा प्रस्तुत भएको हो  । 

महानिर्देशक भट्टराईले सिन्डिकेटको पक्षमा बस्न गरिएका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको पनि बताए ।  अत्यावश्यक सेवामा हड्ताल गरेर यात्रुलाई दुःख दिने काम जायज नभएको भन्दै भट्टराईले सिन्डिकेटको पक्षमा रहेकाहरुको मागको सुनुवाइ गर्न नसकिने बताए ।