यातायात सिन्डिकेटविरुद्ध सरकार,अब साझा बनेपासम्म चल्ने

maitrinews


काठमाडौँ । सुविधासम्पन्न ठूला गाडी मयूर यातायातलाई रुट परमिट दिएको विरोधमा ११ वटा समितिले धूलिखेल–काठमाडौं रुटका गाडी चलाएका छैनन् । गएको बुधबारदेखि कोटेश्वरपूर्वका गाडी सञ्चालन नभएपछि यात्रुलाई कष्ट भएको छ ।
गएको बुधबारदेखि कार्यालय समयमा बस नहुँदा यात्रुहरु मार्कामा परेका छन् ।सिन्डिकेट पक्षधर समितिहरुको दादागिरीविरुद्ध सरकारले कठोर कदम सुरुमा नचाल्न नसक्दा मनोमानी बढ्दै गएको हो । मयूर यातायातले चैत १ गतेदेखि ४२ सिट क्षमताका २४ वटा बस सञ्चालनमा ल्याएको थियो ।
सरकार बल्ल यातायात सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । कोटेश्वरपूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायीलाई उक्त रुटमा इजाजात खुला गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायाण भट्टराईले जो आएपनि आज एकै दिनमा इजाजात दिने बताएका छन् ।

‘जो आएपनि आजै रुट इजाजत दिन्छौं । ब्यवसायीको इच्छाअनुरुप अस्थायी या स्थायी दुबै इजाजत दिने निर्णय भयो’ भट्टराईले भने,‘धुलिखेलसम्म बस चलाउन चाहानेले आजै इजाजत पाउँछन् । सरकारले सो रुटमा चल्ने बसलाई सुरक्षा पनि दिन्छ ।’

विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो ।

मयुर यातायातले काठमाडौं–बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका छन् । मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ । मयुरलाई रोक्न उनीहरुले माग गर्दै हड्ताल गरेपछि सरकार कडा रुपमा प्रस्तुत भएको हो ।

महानिर्देशक भट्टराईले सिन्डिकेटको पक्षमा बस्न गरिएका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको पनि बताए । अत्यावश्यक सेवामा हड्ताल गरेर यात्रुलाई दुःख दिने काम जायज नभएको भन्दै भट्टराईले सिन्डिकेटको पक्षमा रहेकाहरुको मागको सुनुवाइ गर्न नसकिने बताए ।
यसैबीच, साझा यातायतले पनि बनेपासम्म सेवा विस्तार गर्ने भएको छ । यातायात सिन्डिकेटका अनुसार साझा यातायातलाई बनेपा जान दिइएको थिएन । यातायात सिन्डिकेट अन्यत्र रुटमा पनि छ । सरकारले हिम्मत गरेर यो यातायात सिन्डिकेट हटाई आम जनतालाई भरपर्दो सार्वजनिक यातायात सेवा दिनुपर्छ ।