माओवादीसँगको एकताबारे बाहिरको हल्लाजस्तो भित्र कुनै समस्या छैनः माधव नेपाल

maitrinews


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकताका विषयमा बाहिर नकारात्मक तथा अनेकथरी हल्ला भए पनि संगठनभित्र कसरी पार्टीलाई मजबुद बनाउने भन्ने विषयमा बृहत् छलफल भइरहेको बताउनु भएको छ । उहाँकै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि यसलाई मूर्तरूप दिने गरी तयारी थालिएको पनि उहाँले जानकारी दिनुभयो । एकता कार्यदल अन्तर्गतको राजनीतिक प्रतिवेदन मस्यौदा समितिका संयोजक समेत रहनु भएका नेपालले भन्नुभयो, ‘बाहिरको हल्लाजस्तो भित्र कुनै समस्या छैन । हामीबीच संख्याको विषयमा पनि कुनै समस्या नै छैन । यो आपसी समझदारीमा समाधान हुने विषय हो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले अहिले सकारात्मक सोचभन्दा नकारात्मक सोच हाबी भएको पनि बताउनुभयो । ‘अहिले नेपाली समाजमा सकारात्मक सोच्नेभन्दा नकारात्मक सोच भएका धेरै भए । राम्रो होस् भन्नेभन्दा नराम्रो चाहने धेर छन्,’ नेता नेपालले भन्नुभयो, ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्र अब एक भए । लेनिनको जन्म दिन ९ वैशाखमा पर्छ । त्यो दिन पार्टी एकता घोषणा हुन्छ ।’
उहाँले कुराकानीकै क्रममा पटकपटक टुक्रिँदै आएको कम्युनिस्ट पार्टी अहिले एकीकरणको संघारमा रहेको बताउँदै नेपालले जोडिएको पार्टी अब कहिल्यै नटुक्रिने बताउनुभयो । ‘भूमिगत राजनीतिमा जस्तै अब सबैमा त्याग, बलिदानी र आपसी साहसको आवश्यकता छ । इमानदार व्यक्तिलाई सशक्त रूपमा अघि बढाइनेछ । अब जुटेको पार्टी फुट्दैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भन्नुभयो, ‘जुन पार्टीमा बढी प्रभावशाली नेता हुन्छन् । त्यसको क्षमता बढी हुन्छ । सबै नेताका आआफ्नै विशेषता रहेका कारण पनि पार्टीलाई मजबुद बनाउन हामी सक्षम हुनेछौँ ।’ नयाँ बन्ने कम्युनिस्ट पार्टीले एकलपनालाई कम विश्वास गरी सामूहिकतालाई जोड दिएका कारणले पनि अब छुटेर बस्नुपर्ने अवस्था नआउने उहाँको भनाइ छ ।

‘हामीले संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा गहन छलफल गरेका छौँ । त्यसलाई पालना गरेपछि कुनै समस्या आउँदैन,’ नेपालले भन्नुभयो, ‘हामी पार्टीलाई कमिटी प्रणालीका आधारमा नेतृत्व चुन्ने व्यवस्था गरेका छौँ । कमिटीहरूको नियमित छलफल र बहस हुन्छ । जसका कारण आपसी तिक्ततालाई बैठकले सम्बोधन गर्छ र त्यो संगठन मजबुद हुन्छ ।’ कार्यकर्तामा दरार उत्पन्न भए पार्टी कमजोर हुने र नेताबीचको दरारले पार्टी विभाजन हुने अनुभव सबै दलका नेताहरूमा भएकाले यो गल्ती नयाँ पार्टीले कहिल्यै नदोहो¥याउने नेपालले बताउनुभयो ।
एमालेको विदेश विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि शुरु तीन दिने भारतभ्रमण सम्बन्ध सुधारका लागि केन्द्रित हुने पनि बताउनुभयो । ‘मित्र परिवर्तन गर्न सके पनि छिमेकी परिवर्तन गर्न सकिदैँन । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणलाई दुवै राष्ट्रले अवसरका रूपमा लिनुपर्छ । यो भ्रमण नेपाल र भारत दुवैका लागि अवसर हो । यसको भरपुर उपयोग हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘भारतले पनि नेपालमा दिगो शान्ति, स्थायित्व र आर्थिक समृद्धि चाहेको छ । नेपाल समृद्ध भए सबैभन्दा धेरै फाइदा भारतलाई हुन्छ भन्ने कुरा उसलाई राम्ररी थाहा छ ।’