माथिल्लो तामाकोशी समयमै सम्पन्न गर्न प्रम ओलीको निर्देशन

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिनुभएको छ ।

४५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्नेमा जोड दिनुभयो ।

उनले सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिँदै भन्नुभयो, ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन यसबाट अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू ।’

यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री ओलीले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म ब्रिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने बताउनुभयो ।
उहाँले २०७६ को वैशाखसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले परामर्शदाता र निर्माण कम्पनीलाई भुक्तानी दिन आवश्यक पर्ने विदेशी मुद्राको सटही सहज बनाइदिने पनि बताउनुभयो। ‘निर्माण कम्पनी र परामर्शदाता समयमै पैसा भुक्तान गर्नुुपर्छ, त्यसको लागि विदेशी मुद्रा सटहीको लागि म पहल गर्दिन्छु’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पनि निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरबका अन्य आयोजना भन्दा यो आयोजना पहिलै सञ्चालनमा आउनुपर्ने बताउनुभयो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताउनुभयो । उहाँले भन्नुभयो ‘एक महिना मात्रै पनि यो आयोजना छिटो निर्माण सम्पन्न गर्न सकियो भने अर्बौ रकम बचत हुन्छ ।’

आयोजना प्रमुख विज्ञान श्रेष्ठले भने भारतीय कम्पनी टेक्सम्याकाले काम नगरेका कारण आयोजनाको काम समयमै निर्माण अघि बढ्न नसकेको बताउनुभयो । श्रेष्ठले अहिलेसम्म आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको जानकारी गराउनुभयो ।
आयोजनाको लागत ३९ अर्ब २९ करोड हुने उहाँको आँकलन छ । सुरुमा यो आयोजनाको लागत भने ३५ अर्ब ३० करोड आँकलन गरिएको थियो ।