सुरक्षा निकायलाई सदैव तयार रहन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौति आतंककारी गतिविधि भएको बताउनुभएको छ । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक र हुद्या क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चुनौति सामना गर्न सुरक्षा निकाय संधै तयार रहन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्तिसुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताउनुभयो ।

“देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल अतिवादी तत्वहरु,अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतिहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ । ”

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौति साइबर सुरक्षा भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकारी राखि साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायबीच असरदार समन्वय बनाउनु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताउनुभयो । “हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तीपूर्ण अवस्थामा छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर हामी सधैं भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउदै आएकोमा प्रशंसा गर्नुभयो । नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पुरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको छ ।”