ज्ञवाली र वाङबीच महत्वपूर्ण भेटवार्ता, कनेक्टिभिटी विस्तार गर्ने समझदारी

maitrinews

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको छ। बेइजिङमा भएको वार्तापछि दुवैले संयुक्त सम्बोधन समेत गर्नुभएको छ।

संयुक्त सम्बोधनमा चिनियाँ विदेशमन्त्री वाङ यी ले नेपाल र चीनबीच हिमालयपार ‘कनेक्टिभिटी’ विस्तार गर्ने समझदारी भएको बताउनुभयो। उहाँले यस्तो कनेक्टिभिटी भारतसम्म पुग्नुपर्ने धारणा राख्नुभयो। नेपाल र चीनबीच निर्माण हुने रेललाई इङ्गित गर्दै विदेशमन्त्री यी ले यस्तो कनेक्टिभिटीबाट निर्माण हुने आर्थिक कोरिडरले तीन वटै देशको विकासमा मद्दत पुग्ने बताउनुभयो। उहाँले ठूला ठूला पूर्वाधार निर्माण गरेर चीन नेपाल भारत आर्थिक कोरिडर निर्माण गर्नुपर्ने बताउनुभयो। ‘नेपालको विकासका लागि चीन र भारतको साझा धारणा बन्नुपर्छ’, यीले सम्बोधनमा भन्नुुुुभयो, ‘हामी छिट्टै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत निर्माण हुने आयोजनाहरुको सूची सार्वजनिक गर्नेछौँ।’

उहाँले नेपालको उर्जा आवश्यकतालाई पूर्ती गर्न स्रोतहरुको विविधीकरणमा चीनले सहयोग गर्ने बताउनुभयो। एक साता अघि मात्र चिनियाँ सहयोगमा निर्माण भएको १ मेगावाटको सोलार प्रोजेक्ट चीनले नेपाललाई हस्तान्तरण गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन र नेपालबीच ट्रान्समिसन लाइन निर्माणको समझदारी भएको थियो।

परराष्ट्र मन्त्री ज्ञवालीले भने आफूलाई नेपालबाट आधुनिक रेलमा चीन भ्रमण गर्ने सपना रहेको बताउनुभयो। उहाँले नेपाल र चीनबीच रेल्वे निर्माणको छिट्टै सम्भाव्यता अध्ययन गर्नुपर्ने धारणा समेत राख्नुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि ज्ञवाली बेइजिङ जानुभएको हो। चीन जानु अघि ज्ञवालीले बुढीगण्डकी आयोजना, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ र कनेक्टिभीटीका विषयमा छलफल गर्ने बताउनुभयो ।
ज्ञवालीले विदेशमन्त्री वाङ यीलाई भेट्नु अघि उप राष्ट्रपति वाङ क्विसानसँग भेटवार्ता गर्नुभएको थियो ।