नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको स्मृति दिवस

maitrinews

काठमाडौं । दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस नेकपा एमालेले विभिन्न कार्यक्रमका साथ आज मनाएको छ ।

मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता हुनुहुन्थ्यो । अधिकारीको ०५६ साल वैशाख १३ गते चुनावी अभियानकै सिलसिलामा निधन भएको थियो ।

अधिकारी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभयो।

नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका पहिलो पुस्ताका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गर्नुभयो ।

मनमोहन नेतृत्वको सरकारले नेपालमा पहिलोपटक सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । यसको ‘जस’ एमालेले अहिलेसम्मका चुनावमा लिँदै आइरहेको छ ।

तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादीको एकीकरण भई ०४७ सालमा नेकपा एमाले निर्माण भएपछि मनमोहन एमालेको अध्यक्ष बन्नुभयो । उनी जीवन पर्यन्त एमालेको अध्यक्ष रहनुभयो। मनमोहनको निधनपछि एमालेले अध्यक्ष पद खाली राखेको थियो । ०६५ को आठौं महाधिवेशनबाट मात्र एमालेले अध्यक्षको व्यवस्था गरेको थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकीकरण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीले अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिनुभयो । ००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका अधिकारी नेपालको पहिलो मजदूर नेता हुनुभयो ।

करीब ६ दशक नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा राजनीतिक आन्दोलनको नेतृत्व गरेका अधिकारीले पटक पटक गरी करीब १७ वर्ष लामो कठोर जेल जीवन विताउनुभएको थियो ।

०५६ सालको आम निर्वाचनका क्रममा काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा ०५६ वैशाख १३ गते अधिकारीको निधन भएको थियो । अधिकारी त्यस निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार बन्नु भएको थियो ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बन्नुभएको थियो ।

यसैबीच, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्ठाको खडेरी परेको नेपाली राजनीतिमा अधिकारीको अभाव सधैं खड्किरहने बताएका छन् । मनमोहन स्मृति दिवसका अवसरमा ओलीले जारी गरेको वक्तव्यमा मनमोहन अधिकारीको ‘आराम नै हराम’ हो भन्ने उक्तिले आफूहरु सबैलाई निरन्तर प्रेरित गरेको उल्लेख छ ।

यसैबीच, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन, र मदन मण्डारीको पथलाई नअंगाली कम्युनिष्ट बन्न नसकिने बताउनुभएको छ। मनमोहन स्मृति प्रतिष्ठानले नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योग्दान नेपाली राजनीतिमा अतुलनीय रहेको बताउनुभयो।

‘हामी स्पष्ट उद्देश्यका साथ देशलाई अगाडि बढाउन लागि रहेका छौं।’ ओलीले भन्नुभयो, ‘स्पष्ट उद्देश्यका साथ देशलाई विकासको बाटोमा डोर्‍याउन सके नेपालको कम्युनिस्ट आन्दोलन सार्थक हुनुका साथै मनमोहनप्रति सच्चा श्रद्धाञ्जलि हुने छ।’ ओलीले अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताउनुभयो।

‘मनमोहनको चाहना त्यतिबेला नै एकीकृत कम्युनिष्ट पार्टी बनाउनु रहेको थियो’, ओलीले भन्नुभयो, अहिले हामी सोही पथमा जुटेका छौं। ओलीले माओवादी केन्द्रसँग एकता हुन्छ की हुँदैन भन्ने आशंका नगर्न आग्रह गर्दै ढीलो चाडो पार्टी एकता भएरै छोड्ने बताउनुभयो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले डा। ढाकाराम सापकोटाद्वारा लिखित ‘मनमोहन अधिकारी  नेपाली राजनीतिमा ६ दशक’ नामक पुस्तकको विमोचन गर्र्नुभयो।