विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

maitrinews

काठमाडौं । बिहिबार मे ३ तारिख । अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि यो दिवस पत्रकारहरुले धुमधामले मनाइएको छ । उक्त अवसरमा नेपाल पत्रकार महासंघले विविध कार्यक्रम गर्दैछ ।

बिहिबार बिहानै महासंघले राजधानीमा प्रभातफेरि आयोजना गरेको छ । काठमाडौंको बबरमहलस्थित सडक विभाग अगाडिबाट र्याली सुरु भई बानेश्वरस्थित संघीय संसद् भवनको पश्चिममा पुगी समापन भएको थियो ।

बिहिबार बिहान ११ः३० बजे बबरमहलमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ ९आइएफजे० ले तयार गरेको ‘दक्षिण एसियामा प्रेस स्वतन्त्रताको अवस्था’ विषयक प्रतिवेदन र नेपाल पत्रकार महासंघले तयार गरेको ‘नेपालमा प्रेस स्वतन्त्रताको अवस्था–२०७४’ सार्वजनीकीकरण गरेको छ ।

सोही अवसरमा प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया र सगरमाथा आरोहणमा सहभागी पत्रकार महिलाहरुलाई ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा न्यायपालिकासमेत संलग्न रहेको बताएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा २०७४ सालमा पत्रकारहरूबाट समाचारको स्रोत माग्ने, सञ्चारमाध्यममा आउने समाचारमा रोक लगाउन भएको प्रयत्नलगायत घटनामा न्यायपालिका समेत प्रेस स्वतन्त्रताप्रति अनुदार देखिएको उल्लेख छ ।

महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा राज्य पक्ष बढी संलग्न रहेको बताएको छ । महासंघले २०७४ सालमा पत्रकार पक्राउ तथा निर्वाधरुपमा समाचार संकलनमा रोक लगाउने काम राज्य पक्षबाट बढी भएको पाइएको जनाएको हो ।

महासंघले विभिन्न तहमा कानुन निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरुमा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धाराहरू विपरित हुने खालका प्रावधानहरू राखिएकोमा ध्यानाकर्षण भएको पनि जनाएको छ ।