यातायात सिण्डिकेटबिरुद्ध कम्पनीको सेवा दिँदै,सिन्डिकेट पक्षधरको बन्दका कारण यात्रुलाई असुविधा

maitrinews

काठमाडौं । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुले असुविधा झेलेका छन् । तर सिण्डिकेट तोड्न असुविधा झेल्न तयार रहेको उनीहरुले बताएका छन् ।

सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्ता भएकाहरुले क्षमताले भ्याएसम्म यात्रुलाई सुविधा दिने प्रयास गरेका छन् । उता, निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिएका छन् । सामाजिक सञ्जालमार्फत निजी सवारीवालाहरुले सन्देश पोष्ट गर्दै आफूहरु पायक पर्ने ठाउँसम्म पुर्याउन तयार रहेको भन्दै आफ्नो रुटको जानकारी दिएका छन् । यो क्रम बढ्दो छ ।

साझा, मयूर, अरनिकोलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेका छन् । यात्रुको माग थेग्न नसकेपछि यसले केही सुविधा भएको छ । सरकारले सहयोगका लागि आग्रह गरेपछि सुरक्षा मागेका उक्त कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् ।

त्यस्तै, उपभोक्ताकर्मीले सिन्डिकेटविरुद्धको लडाइँमा निजी सवारीले साथ दिनुपर्ने बताएका छन् । चारपाँग्रे र दुई पाँग्रे निजी सवारी साधनले बाटोमा अलपत्र परेका यात्रुहरुलाई आफु पुग्ने ठाउँ वा पायक ठाउँसम्म पूर्याउन सकेमा ठूलो सहयोग हुने उनीहरुले बताएका छन् । यातायात उपभोक्तावादी रामबहादुर थापाले देशभर निजी गाडीहरुलाई ‘लिफ्ट’ दिन अपील गरेका छन् ।

सिन्डिकेटविरुद्धको लडाइँ वारपार हुनुपर्ने भन्दै सिन्डिकेटको पक्षमा रहेका व्यवसायीलाई घुँडा टेकाउन निजी सवारी धनीले भूमिका खेल्न सक्ने बताएका उपभोक्ताकर्मीको आब्हान छ । उपभोक्ताकर्मी प्रेमलाल महर्जनले निजी सवारी साधनले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताएका छन् ।