भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा ५ हजार सुरक्षाकर्मी खटाइँदै

maitrinews

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले दुईदिने विशेष सुरक्षा योजना तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी २८ गते नेपाल आउँदै हुुनुहुन्छ । उहाँको दुईदिने नेपाल भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार पारिएको हो ।
विशिष्ट पाहुनाको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख विश्वराज पोखरेलले सुरक्षा योजनाको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको वासस्थानका लागि बौद्ध जोरपाटीस्थित होटल हायातलाई छनोट गरिएको छ । वैशाख २८ गते बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बौद्धसम्मको सुरक्षामा विशेष निगरानी राखिनेछ ।
उहाँले यात्रा गर्ने ‘बुलेटप्रुफ’ गाडीको पछुवामा विशेष प्रवधि जडित ‘जामर’ गाडीसहित र दाँया–बाँया तथा अगाडि पछाडिबाट छ वटा सवारी साधनले सुरक्षा प्रदान गर्नेछन् । उहाँले नेपाल भ्रमणको क्रममा प्रयोग गर्ने ‘बुलेटप्रुफ’ गाडी भने भारतबाटै ल्याउन लागिएको हो । उहाँको आन्तरिक ९भित्री० सुरक्षामा भारतीय सेनाको ‘स्पेसल’ कमान्डो खटे पनि त्यसपछिको घेरामा नेपाली सेनाको स्पेसल कमान्डो खटिनेछ ।
बाह्य सुरक्षा, सूचना सङ्कलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिनेछ । भारतीय प्रधानमन्त्री मोदीको सवारी सञ्चालनका क्रममा सर्वसाधारणको सवारी आवागमनमा समेत प्रतबन्ध लगाइने भएको छ । तर, सुरक्षाको कारण देखाउँदै उहाँले प्रयोग गर्ने सवारी रुटबारे भने जानकारी दिइएको छैन । उहाँ काठमाडौँ पुगेर जनकपुर जाने वा जनकपुर हुँदै काठमाडौंँ आउने भन्ने विषयमा पनि अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।
यस्तै, जनकपुरमा हुने नागरिक अभिनन्दन र मुक्तिनाथको धार्मिक भ्रमणका क्रममा सेनाको विशेष कमान्डो र हेलिकोप्टरसहितको टोलीले उच्चस्तरीय सुरक्षा प्रदान गर्ने भएको छ । प्रहरीका अनुसार, काठमाडौँ बाहिरको सुरक्षा व्यवस्था स्थानीय प्रहरीले नै गर्नेछ ।