गाडी नचलाउने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन,बस व्यवसायीहरु धमाधम पक्राउ,सम्पत्ति छानविन गर्ने,बैंक खाता रोक्का

maitrinews

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आवश्यक सेवा अवरुद्ध गर्ने देशभरका सिण्डिकेटधारी यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिनुभएको छ ।

उहाँले आज जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै आवश्यक सेवा सञ्चालन ऐन–२०१४ अनुरुप उनीहरुलाई पक्राउ गरी कारवाही गर्न निर्देशन दिनुभएको श्रोतले बताएको छ ।

गृहमन्त्रीको परिपत्रपछि प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रहरी कार्यालयलाई सम्बन्धित यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । आवश्यक सेवा सञ्चालन ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ भने हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिने व्यवस्था छ ।

सरकारले केही दिन अघि अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रका सूचना निकालेको छ ।

सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् ।

यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

यस्तै प्रहरीले बुटवल यातायात वयवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

२४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते विहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

प्रहरीले काभ्रे मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकारलाई पनि पक्राउ गरेको छ ।

त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।

त्यस्तै नारायणी यातायातका अध्यक्षसहितको खोजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सम्पत्ति छानविन गर्ने,बैंक खाता रोक्का

सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको छ । खाता रोक्का लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखि पठाउने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

बैठकले यातायात सेवा सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । साथै विमा लगायतका केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ ।

तर, सिन्डिकेट अन्त्यको निर्णयबाट पछि नहट्ने गृह र यातायातमन्त्री दुबैले बताएका छन् ।