पूँजीको विकास गरी समाजवादी क्रान्ति गरिने : प्रधानमन्त्री

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टहरुले पूँजीवाद नमान्ने तर पूँजीको विकास गरी समाजवादी क्रान्ति गर्ने बताउनुभएको छ । त्यसैतर्फ सरकार अघि बढेको समेत जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटीद्वारा महान चिन्तक कार्ल माक्र्सको द्धिशतबार्षिकी समारोहमा शनिवार आयोजित कार्यक्रममा उहाँले एमाले पूँजीवादी पार्टी नभएर पूँजीको प्रयोग गर्दै समाजवाद स्थापना गर्ने पार्टी भएको बताउनुभएको हो । नेपालको संविधानमा पनि नेपाल समाजवादउन्मुख भएको उल्लेख गर्दै त्यसको स्थापना एमालेको नेतृत्वमा मात्र हुने बताउनुभयो ।

उहाँले सानातिना कुरामा नअल्झी नेपाललाई वास्तविक रुपमा जनताको देश बनाउन आफू लागिपरेको बताउनुभयो । देश बनाउने साझा अभियानमा जुट्न पनि प्रधानमन्त्रीले सबैमा आव्हान गर्नुभयो ।

‘पूँजीवादी क्रान्ति कम्युनिष्टहरुले गर्दैनन् । कम्युनिष्टहरुले त समाजवादी क्रान्ति गर्छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पूँजीवाद भनेपछि त्यो मान्नेहरु पूँजीवादी भए ९क्यापिटलिष्ट० भए, क्यापिलिज्म् मान्ने पूँजीवादी हुन । हामी पूँजीवादी होइनौं, पूँजीवाद मान्दैनौं । तर हामी पूँजीको विकास गरी समाजवादतर्फ अघि बढ्छौं, समाजवादी क्रान्ति गछौं ।’

नेपाली कांग्रेस सोसलिष्ट इन्टरनेशनलको सदस्य रहेको र त्यसका अन्तराष्ट्रिय भेलामा नेपाली कांग्रेसका तर्फबाट सहभागिता भइरहेको तर्फ संकेत गर्दै समाजवाद भने कांग्रेसले कहिले पनि नबुझेको र नजानेको बताउनुभयो । ‘कोही सोसलिष्ट इन्टरनेशनलको सदस्य भएर आए, तर समाजवादका लागि केही गर्दैनन् । सोसलिष्ट इन्टरनेशनलको सदस्य हुने, त्यो भनेको के हो नबुझ्ने । अनि फर्केर आएर फेरी सोसलिष्ट हुँ भन्छन्’ एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले भन्नुभयो,‘बुझेर बोले कि, नबुझी बोले । के बुझे, मलाई अचम्ब लाग्छ ।’

प्रधानमन्त्री ओलीले कार्ल माक्र्स मानव इतिहासका महान चिन्तक रहेको भन्दै विश्व नै उनकै दर्शन र बिचारबाट निर्देशित भएको बताउनुभयो । माक्र्सवादले सबैतिर प्रभाव पारेको भन्दै सामाजिक सुरक्षा, शिक्षादेखि मानव सम्यता, इतिहास सबैतिर माक्र्सवादको ठूलो योगदान रहेको बताउनुभयो ।

माक्र्सवादको आजको बाटो जनताको बहुदलीय जनवाद रहेको भन्दै एमाले त्यही जनताको बहुदलीय जनवादबाट निर्देशित रहेको बताउनुभयो । ‘हामीले समाजवादी, जनवादी क्रान्ति गर्ने हो । जवजले त्यसतर्फ हामीलाई निर्देशित गर्छ । जवजले आजको माकर््वादको बाटो के हो, त्यो प्रष्ट भन्छ’ प्रधानमन्त्रीले भन्नुभयो,‘यस्तो स्पष्टताका साथ हामी अघि बढ्नुपर्छ । अनि मात्र हामी सफल हुन्छौं ।’