भारतीय प्रम मोदीको नेपाल भ्रमणमा गरिएको अपेक्षा — न्हुच्छेनारायण डंगोल

maitrinews


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक नेपाल आउँदै हुनुहुन्छ । वैशाख २८ र २९ गते दुई दिवसीय भ्रमणका लागि उहाँ नेपाल आउन लाग्नुभएको हो । मोदीले यस पटकको भ्रमण धार्मिक प्रकृतिको छ तर पनि नेपाली पक्षसँग राजनीतिक कुराकानी हुनेछ । मोदीको यो भ्रमणलाई अत्यन्तै महत्व दिएर नेपाल सरकारले आवश्यक सुरक्षा व्यवस्था तथा आवश्यक तयारी गरेको छ । प्रम मोदी विहारको पटना हुँदै हेलिकोप्टरबाट जनकपुर आउनुहुनेछ । जनकपुरमा उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुहुनेछ । उहाँले जानकी मन्दिरमा पूजाआजा गर्नु हुनेछ । उहाँलाई त्यहाँ नागरिक अभिनन्दन गरिने छ ।
जनकपुरको भ्रमणपछि भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ जानुहुनेछ । उहाँले मुक्तिनाथको मन्दिरमा पूजाआजा गर्नुहुनेछ । जनकपुर र मुक्तिनाथको यात्रापछि काठमाडौँमा राजनीतिक भेटघाट गर्नुहुने मोदीबाट यस पटक नेपालीहरुले नेपाल र भारतबीच भएका दर्जनौँ सम्झौताहरु कार्यान्वयन गर्ने दिशामा प्रतिबद्धताको अपेक्षा गरेका छन् । भारतसँग भएका सम्भौताहरु कार्यान्वयन हुन नसक्दा दुई देशबीच विश्वासको संकट उत्पन्न भएको छ । नेपालमा सडक,रेल र जलविद्युत्का ठूला ठूला परियोजनाहरु बनाउने भनी द्विपक्षीय भ्रमणका बेला विभिन्न सम्झौताहरु भएका छन् तर ती सम्झौता होल्ड गरेर राख्ने कार्यान्वयनमा जोड नदिने काम भारतले गरेको छ । यसले गर्दा नेपालको विकास निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
नेपालको विकासमा भारत सकारात्मक बन्न नसक्नु सबैभन्दा ठूलो समस्या हो । नेपाललगायतका छिमेकीलाई हेर्ने सकारात्मक दृष्टिकोण बनाउने दिशामा भारतको कमजोरी छ । यही कमजोरीका कारण भारतप्रति छिमेकीहरुमा सकारात्मक सन्देश जान सकेको छैन । भारतको हेपाह र मिचाह प्रवृत्तिबाट पीडित छिमेकीहरुले नयाँ विकल्प खोजिरहेका छन् । यो भारतका लागि राम्रो होइन । भारतले आफ्नो व्यवहार र आचरणमा सुधार नगर्ने हो र छिमेकीप्रति सकारात्मक नबन्ने हो भने अब छिमेकीहरु नयाँ विकल्प खोज्न वाध्य हुने छन् ।
केही समयअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गरेर आउनु भयो । भ्रमणका बेला भएका १२ बुँदे समझदारी तत्काल कार्यान्यन होस् साथै नेपाल र भारतबीचका विभिन्न समस्या समाधान गर्न प्रयास होस् भनी यस पटक मोदीको नेपाल भ्रमणमा ध्यानाकर्षण गराइँदै छ । मूल तः नेपाल र भारतबीच सन् १९५० मा भएको असमान सन्धि परिमार्जन गर्नुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने, विराटनगरस्थित भारतीय कार्यालय बन्द गर्नुपर्ने, सीमा क्षेत्रमा भारतले मिचेको हजारौँ विघा जमिन फिर्ता गर्नुपर्ने, सीमा क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने,नेपालसँग गरिएका सम्झौताहरु कार्यान्वयन गरिनुपर्ने आदि विषय तड्कारोरुपमा देखिएका छन् । सीमा क्षेत्रका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बारम्बार दुःख दिने गरेकाले सो कार्य तत्काल रोकिनुपर्ने साथै नेपालीलाई हेप्ने प्रवृत्ति रोक्न भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने अवस्था छ । भारतले आश्वासनमात्र दिने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखाउँदै आएको छ ।
नेपालले भारसित समानता र आपसी हितको आधारमा सम्बन्ध विस्तार गर्न चाहेको छ । आकारमा सानो ठूलो भए पनि अन्तर्राष्ट्रिय मूल्य र मान्यताका आधारमा दुवै मुलुकको हैसियत स्वतन्त्र र बराबर छ । यो कुरालाई भारतले स्वीकार गरी नेपालसँग समान राष्ट्रको हैसियतमा व्यवहार गर्नुपर्छ । भारतले छिमेकीलाई हेप्ने काम नरोक्ने हो भने अब भारतसँग टाँसिएर बस्ने र उसले जे भन्यो त्यही मानरे बस्ने अवस्था छैन । स्वतन्त्र मुलुकको स्वतन्त्र नागरिकका हैसियतले नेपालीहरु सम्मानपूवर्क बाँच्न सक्छन् भन्ने कुरा त भारतले २०७२ सालमा गरेको पाँच महिना लामो भारतीय नाकाबन्दीविरुद्ध उभिएर प्रमाणित गरिसकेका छन्् । सो अन्यायपूर्ण नाकाबन्दीका कारण भारतीय प्रधानमन्त्री मोदी, भारत सरकारप्रति नेपालीहरु नकारात्मक बनेको छन् । विना आधार लहडका भरमा अन्यायपूर्ण ढंगले लगाइएको सो नाकाबन्दीको आधार पुष्टि गर्न भारतले सकेन । नाकाबन्दीसामु नेपाल झुकेने विकल्प खोज्यो । अनि वाध्य भई भारतले नाकाबन्दी हटायो । यो नाकाबन्दी लगाउने मोदीसँग नेपालीहरु सकारात्मक छैनन् तैपनि मोदीलाई यस पटक नागरिक अभिनन्दन गरेर गुन लगाउँदै छन् । भारत नकारात्मक भए पनि नेपालीहरु उदार छन् । छिमेकीहरुसँग असल व्यवहार र सम्बन्ध कायम राख्न चाहन्छन् । मोदीलाई सम्मान पनि गर्ने अनि आफ्ना कुरा पनि राख्ने तयारी गरेका नेपालीहरुप्रति सकारात्मक सन्देश दिन मोदीले नेपालमाथि गरेको नाकाबन्दी गलत थियो भनी क्षमा माग्ने हिम्मत गर्नुपर्छ साथै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ ।
नेपालीहरु अब भारतकै भरमामात्रै बाँच्न सक्छन् । नेपालीलाई जे गरे पनि हुन्छ भन्ने धारणा भारतले परिवर्तन गर्नुपर्छ । नेपालीहरु आफै बाँच्न सक्षम छन् र आफ्नो भविष्यप्रति सजग छन् । भारतले नेपालप्रति मैत्रीपूर्ण व्यवहार गर्नुपर्छ । पुरानो मानसिकता नत्याग्ने हो भने घाटा भारतलाई नै हुन्छ । भारतले छिमेकीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेका कारण पाकिस्तान, बंगलादेश,भुटान श्रीलंका टाढिइसके । नेपाल पनि टाढिने अवस्थामा छ । भारतकै कारण चीनसित नजिकको सम्बन्ध विस्तार गरिरहका छिमेकीहरुलाई भारतले आफ्नो बनाउन सकेन भने बढी बेफाइदा भारतलाई नै हुन्छ । त्यसैले अब सन्तुलित मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न भारतले नै प्रयास गर्नु आजको आवश्यकता हो ।
भारतीय शासकहरु नेपालप्रति अनुदार भए पनि जनस्तरमा भने नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध प्रगाढ छ । जनस्तरमा रहेको यो सम्बन्धले नै नेपाल र भारत सम्बन्धलाई बल प्रदान गरेको छ । दुवै देशका जनता एक आपसमा मिलेर बस्न चाहेका छन् । जनस्तरको यो सम्बन्धलाई थप बलियो बनाउन पनि दुवै देशका सरकारले आपसी हित र समानताका आधरमा सम्बन्ध सुधार गर्नुपर्छ । मोदीले नेपालीको मन जित्न सक्नुपर्छ । त्यसका लागि अन्यायपूर्ण व्यवहार त्याग्नुपर्छ । नेपालको सार्वभौमिकतालाई सम्मान गर्नुपर्छ ।