टेलिकमका ६५ लाख ग्राहकले उच्च गतिको फोरजी सेवा प्राप्त गर्दै : राजभण्डारी

maitrinews

 


काठमाडौँ । नेपाल टेलिकमका ६५ लाख ग्राहकले छिट्टै उच्च गतिको फोरजी सेवा पाउने भएका छन् । देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्ने लक्ष्यसहित नेपाल टेलिकम फोरजी एलटीई नेटवर्क बिछ्याउने अन्तिम तयारीमा पुगेको छ ।

छुट्छाछुट्टै निश्चित ठाउँमा मात्र फोरजी विस्तार गर्नुभन्दा एकैपटक सबै प्रयोगकर्तालाई यस्तो सुविधा उपलब्ध गराउने प्रक्रियामा कम्पनी अघि बढेको हो । एलटीई नेटवर्क विस्तारका लागि कम्पनीले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार निवेदन दिएका कम्पनीको मूल्याङ्नको अन्तिम चरणमा रहेको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनुभयो । ‘छिटै मूल्याङ्कनको काम पूरा भएपछि नेटवर्क विस्तार तत्काल अघि बढ्छ’ उहाँले भन्नुभयो । ‘नेटवर्क विस्तार भएपछि देशैभरका कम्पनीका ग्राहकलाई फोरजी सेवा उपलब्ध हुन्छ’ ।

नेटवर्क विस्तार भएसँगै ६५ लाख ग्राहकले उच्च गतिको फोरजी सेवा प्राप्त गर्न सक्नेछन् । सरकारले अघि सारेको स्मार्ट सिटी, स्मार्ट होम मात्र नभई जनताको स्मार्ट लाईफ बनाउन पनि यस परियोजनाले सहयोग पुर्याउने उहाँको दाबी छ । टेलिमकले हरेक प्रदेश तथा स्थानीय तहमा जीएसएम सेवा प्रदान गरेसँगै जनताको शिक्षाको स्तरदेखि स्वास्थ्यमा समेत सुधार ल्याउन सक्ने अपेक्षा गरेको छ । किताब नपुगेका विकट गाउँमा इन्टरनेटबाटै बालबालिकाले शिक्षा लिन सक्ने उहाँको भनाई थियो । घरघरमा एफटीटीएच फोरजीसँगै कम्पनीले घरमा फाइबर बिछ्याएर उपलब्ध गराउने ब्रोडब्याण्ड इण्टरनेट ‘फाइबर टू दी होम’ विस्तारको कामलाई पनि आक्रामक रुपमा अघि बढाउने तयारी गरिरहेको छ । कम्पनीले जेठको पहिलो हप्ता उपत्यकाका कीर्तिपूर, चाबहिल सहित एक दर्जन ठाउँमा एफटीटीएच सेवा पुर्याउने जनाएको छ ।

टेलिकमले फाइबर टु विल्डिङको अवधारणालाई पनि अघि बढाएको छ । जसअन्तरगत कुनै हाउजिङ, अपार्टमेन्ट तथा मलहरुमा धेरै टेलिफोन तथा इन्टरेनट लाईन आवश्यक परेमा सोही स्थानमा उपकरण राखेर आधुनिक सेवा प्रदान गर्दै आएको छ ।  एक करोड जीएसएम लाइन विस्तारको प्रक्रियालाई कम्पनीले थप गति दिएको छ । यसका लागि आवश्यक बीटीएस टावर जडानको काम अघि बढेको राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड लाइन अन्तर्गत काठमाडौं र पोखरामा ४८ लाख लाईन विस्तार भइसकेको छ भने अन्य क्षेत्रमा विस्तार गरिने ५२ लाख लाईनको पुरा हुन केही बाँकी रहेको छ ।

यसका लागि पूर्वाञ्चलमा ६१ र मध्यपश्चिमाञ्चलमा ५४ वटा टावर राख्ने काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै थप १५२ वटा टावर राख्नका लागि मूल्याङकन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।  बिलिङ प्रणालीमा यस अघि बारम्बार समस्या देखिएकोमा कम्पनीले हालै मात्र यसलाई तत्काल नै जानकारी दिने गरी ‘रियल टाईम’मा परिणत गरेको छ । यसबाट टेलिकमले प्रदान गर्दै आएको सम्पूर्ण सेवाहरु एउटै विलिङ सिस्टमबाट पनि उपलब्ध हुनेछ । टेलिकमले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्न कस्टुमर रिलेसन म्यानेजमेन्ट पनि संचालनमा ल्याएको छ ।

यसमार्फत ग्राहकले टेलिकमका सम्पूर्ण सेवाहरु एकद्वार प्रणालीबाट प्राप्त गर्न सक्नेछन् । यस्तै कम्पनीले विलिङ सिस्टमलाई अझै अपग्रड गर्दै १ प्लस ३ को अवधारणामा लैजाने तयारी गरेको छ ।  टेलिकमले केहि हप्ताअघि मात्र करिब ८ लाखको हाराहारीमा रहेको फिक्स्ड टेलिफोन लाईनालाई प्रिपेड प्रणालीमा ल्याएको छ । यसअघि फोन गरिसकेपछि मासिक पैसा तिर्ने व्यवस्था ‘पोष्टपेड’ हुँदा ग्राहकले अधिक मात्रामा फोन प्रयोग गर्ने र सो फोननै बन्द गरिराख्ने चलन बढेको थियो । जसले गर्दा टेलिकमले करोडौं रुपैयाँ घाटा व्यहोर्दै आएको थियो । तर, रियल टाइममा आएसँगै अबका दिनमा यस्ता भुक्तानी शुन्य नै हुने राजभण्डारी बताउनुभयो ।

सोही अवधिमा ल्याण्डलाईन लाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दैै त्यसैबाट डाटा सर्भिस देखि त्यसैबाट भिडियोलगायत अन्य सुविधा प्राप्त गर्न सक्ने पनि उहाँले जानकारी दिनुभयो । ल्याण्डलाईनबाटै टेलिभिजनलगायत मल्टीमिडिया सर्भिस प्रदानका लागि द्वूत गतिमा काम भइरहेको पनि कम्पनीले जनाएको छ ।  गत वर्ष सम्पन्न संघ र प्रदेशको निर्वाचनमा टेलिकमले एकै पटक दश ओटा दुर्गम स्थानमा सेवा पुर्याएर प्रशंसा पायो । देशभरका सबै स्थानमा सेवा पुर्याउने सरकारी लक्ष्य अनुसार टेलिकमले पछिल्लो एक वर्षयता दुर्गम स्थानको सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ ।

सडक सञ्जालको पहुँच नपुगेका तथा हिंडेर पनि लामो समय लाग्ने विकट क्षेत्रमा टेलिकमले सेवा विस्तार गरिरहेको छ । ‘हाम्रो प्राथमिकता पैसा कमाउनुभन्दा पनि कसरी सकभर देशका सम्पूर्ण जनतालाई सहज र सुलभ तरिकाबाट सेवा प्रदान गर्न गर्नुपर्छ भन्ने हो,’ उहाँले भन्नुभयो । पछिल्लो पटकट टेलिकमले पर्यटकीय गन्तव्य रारा ताललाई लक्षित गर्दै सो स्थानमा इन्टरनेट सेवा पुर्याएको थियो । राजभण्डारीले प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेयता कम्पनीले आर्थिक बर्ष २०७३र७४ मा आफ्नो ग्राहक संख्या १७ दशमलव २३ प्रतिशतले वृद्धि गर्दै १ करोड ७६ लाख पुर्याएको थियो भने माघ मसान्तसम्ममा आईपुग्दा अझै बढेर १ करोड ८९ लाख ४३ हजार पुगेको छ ।  टेलिकमले गत चैत महिनादेखि फोन गर्दा गर्दै ब्यालेन्स सकिए पनि कुराकानी जारी रहने क्रेडिट सेवा सञ्चालनमा ल्यायो ।

क्रेडिट बापत विना ब्याज सेवा लिन सकिने कम्पनीको यो नयाँ सुविधा ग्राहकमाझ लोकप्रिय बन्दै गएको छ । यसले ब्यालेन्स सकिए पनि तत्काल रिचार्ज गरिहाल्नुपर्ने बाध्यताबाट सेवाग्राहीले छुट पाएका छन् ।  अहिले टेलिकमले चीनबाट १ दशमलव ५ जिबी क्षमताको इन्टरनेट ल्याएको छ । तर, यसलाई अबका दिनमा थप विस्तार गर्दै फाइबरलाई पनि १ प्लस १ मा ल्याइने कम्पनीले जनाएको छ । सोही रुटमा थप अर्को फाइबर विच्छ्याउने गरी कम्पनीले काम अघि बढाइ सकेको छ ।

यस्तै टेलिकमले केही समयभित्रै भ्वाइस मेल सर्भिस संचालनमा ल्याउने तयारी गरेको छ भने सोही अनुरुप भिडियो अन डिमाण्डलगायत सुविधा ल्याउने तयारी पनि गरेको छ ।  नेपाल टेलिकमको इतिहासले राजभण्डारीको नेतृत्वमा पहिलो पटक समयमै साधारणसभा सम्पन्न गरेको छ । सेयरधनीलाई पनि ५५ प्रतिशत लाभांस वितरण गर्न सफल भएको थियो । त्यस्तै विगत १२ बर्षदेखि नभएको आधिकारिक ट्रेड युनियनको निर्वाचन समेत कम्पनीले यसै आर्थिक बर्षमा गराउन सफल भयो ।