स्वच्छ र पारदर्शी ब्यबसाय गर्न निजी क्षेत्रलाई आग्रह

maitrinews


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी ब्यबसायको निम्ति निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा राष्ट्रपति भवन शितालनिवासमा गएको चेम्वरको प्र्रतिनिधिमण्डलसँंग उहाँले त्यसका लागि सवैले आआफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताउनुभयो ।
हरेक क्षेत्रमा संचालन गरिएका ब्यापार ब्यबसायहरुमा पारदर्शिता र स्वच्छताको आवश्यकता रहेको उहाँले औल्याउनुभयो । तत्काल आयात गर्नैपर्ने बस्तुहरुको आयातको बिकल्प नहोला तर हरेक दिन चुल्होमा पाक्ने सामान्य चिजहरु पनि आयात नै गरिरहने हो भने समृद्धीको सपना अधुरै रहने सम्भावनातर्फ उहाँले सचेत रहन आग्रह गर्नुभयो ।
परिवारको आर्थिक समस्या समाधान गर्ने एउटा उद्देश्य राखेर विदेश पलायन हुँंदा त्यसले कैयौं समस्या खडा गरेकोले यो समस्या हल नगरिकन ब्यापार ब्यबसाय अघि नबढ्ने उहाँको विचार थियो । त्यसकारण यसको अन्त्य गर्न निजी क्षेत्र र सरकारसंगै मिलेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । नेपालको ब्यापार ब्यबसायको बृद्धि गर्न निजी ब्यबसायसँंग आबद्ध ब्यवसायीहरुले ‘नीति बिज्ञ’को रुपमा भूमिका निर्बाह गरी सरकारलाई उचित सुझाव दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
त्यसअघि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्शसँंग आवद्ध देशैभरिका निजी ब्यबसायीहरुकोतर्फबाट राष्ट्रपतिको दोस्रो कार्यकाल गौरबमय रुपमा सफल रहोस भनी शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले धेरै बर्षपछि नेपालमा स्थिर सरकार निर्माण भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यापार ब्यबसायमा वर्तमान सरकार सम्बेदनशील देखिएकोले आशाका किरण देखापरेको कुरा उल्लेख गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्शका कार्य समितिकोतर्फबाट आफ्ना सुझाब राख्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘नेपालमा बलियो सरकार निर्माण भएपछिको देशको समृद्दिको सपना पुरा गर्ने आधार भनेको अब निर्यात प्रबद्र्धन र विदेशी लगानी भित्राउने आर्थिक कुटनीति नै हो । यसमा निजी क्षेत्र, सरकार र अन्य साझेदारहरु नजिकको सहकार्यमा रहेर काम गर्न जरुरी छ ।’
विशेष गरिकन भारतसँंगको ब्यापार घाटा कम गर्न र चीनसँगको ब्यापार प्रबर्दन गर्न देशले आर्थिक कुटनीतिको नमुना तयार गरेर अघि बढ्न सके फलदायी हुने उहाँंको भनाई थियो । निजी ब्यवसायले देशको बेरोजगारी समस्या समाधान गर्न अहम भूमिका पनि खेल्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसो भएमा देशको समृद्धिको सपना पुरा हुने दिशामा अघि बढ्ने उहाँले विश्वास लिनुभयो ।
प्रतिनिधिमण्डलमा चेम्वरका पूर्व अध्यक्ष सुरेश कुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, दीपक कुमार मलहोत्रा, इच्छाराज तामाङलगायतका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।