मोदीको नेपाल भ्रमण : अवसर र चुनौती — न्हुच्छेनारायण डंगोल

maitrinews

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पन्न दुई दिवसीय नेपाल भ्रमणलाई अवसर र चुनौती दुवै रुपमा हेरिएको छ । मोदीले चैत २८ र २९ गते गर्नुभएको दुई दिवसीय भ्रमणलाई विभिन्न अर्थले हेरिएको छ । कसैले यसलाई धार्मिक भ्रमण भनेका छन् भने कसैले राजनीतिक । दुवै देशका सरकारले मोदीको भ्रमण सफल भएको र यसले आपसी विश्वास साथै सदभाव बढाएको दावी गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले यस पटक काठमाडौँबाट नभई जनकपुरबाट आफ्नो भ्रमण सुरु गर्नुभयो । पूर्व घोषित कार्यक्रम अनुसार उहाँ भारतको पटना हुँदै हेलिकोप्टरमार्फत जनकपुर पुग्ने भनिएको थियो तर उहाँ नयाँदिल्लीबाट विशेष विमानमा सिधै जनकपुर पुग्नुभयो । जनकपुरमा उहाँलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुभयो ।
जनकपुरको जानकी मन्दिरमा षोडसोपचारले पूजाअर्चना गर्नुभएका मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभयो । दुवै नेताले त्यहाँ रामायण सर्किटको शिलान्यास गर्नुभयो । त्यसपछि बाह्रविघा मैदानमा नागरिक अभिनन्दन गरियो । नागरिक अभिनन्दनका क्रममा मोदीले प्रदेश २ को विकासका लागि एक अर्ब रुपियाँ दिने घोषणा गर्नुभयो । नागरिक अभिनन्दनमा मोदीले नेपालको आन्तरिक विषयमा केही कुरा बोल्नुभएन । तर प्रदेश २ का मुख्यमन्त्री राउतले नेपालको संविधानले मधेसीलाई विभेद गरेको गुनासो गर्नुभयो । नागरिक अभिनन्दनमा यो बोल्नुपर्ने विषय थिएन । नेपालको आन्तरिक विषय मोदीसँग बोलिएकोमो मुख्यमन्त्री राउतको विरोध भएको छ ।
जनकपुरको कार्यक्रमपछि चैत २८ गते दिउँसो काठमाडौँ पुग्नुभएका मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक स्वागत गर्नुभयो । सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाले उहाँलाई गार्ड अफ अनर प्रदान गर्यो । त्यसपछि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी,उपरराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नुभयो ।
चैत २८ गते बेलुका होटल द्वारिकामा भारतीय प्रधानमन्त्री मोदीसँग नेपाल र भारतबीच द्विपक्षीय वार्ता भयो । प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच एकान्त वार्ता पनि भयो । दुवै प्रधानमन्त्रीले स्वीच थिचेर ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नुभयो । मोदीको सम्मानमा रात्रिभोजको आयोजना गरियो ।
भोलिपल्ट चैत २९ गते विहान मोदीले पशुपतिनाथको मन्दिर र मुक्तिनाथमा विशेष पूजा गर्नुभयो । दिउँसो काठमाडौँ महानगरपालिकाले उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्यो । सो अवसरमा मोदीले नेपालको विकासका लागि सबै किसिमका सहयोग गर्न भारत तयार रहेको बताउनुभयो । नागरिक अभिनन्दनपछि अपरान्ह स्वदेश फर्कनुभयो । उहाँले दुईदिने बसाइका क्रममा विवादास्पद भाषणा गर्नुभएन । यस पटक भारतको नेपालप्रति असन्तुष्टिका कुनै शब्द प्रयोग नहुनु र मोदीले नेपालप्रति सदभाव राख्नुलाई सकारात्मक रुपमा हेरिएको छ । मोदीलाई जनकपरवासी र काठमाडौँ महानगरवासीले भव्य स्वागत गरे ।
मोदी आफ्नो कार्यकालमा तीन पटक नेपाल आउनुभयो । उहाँले यस पटक नेपालीहरुको मन जित्ने प्रयास गर्नुभयो । जनकपुरको जानकी मन्दिर काठमाडौँको पशुपतिनाथको मन्दिर र मुस्ताङको मुक्तिनाथ मन्दिरमा मोदीले विशेष पूजाअर्चना गर्नुले नेपालको धार्मिक पर्यटन फस्टाउने अपेक्षा गरिएको छ । यो कदमले भारतीय धार्मिक पर्यटकहरु नेपालप्रति थप आकर्षित हुने छन् ।
मोदीको शासन कालमै नेपालले पाँच महिन लामो नाकाबन्दीको सामाना गर्नुका साथै नेपालको नयाँ संविवधानप्रति भारतको असहमतिले तनाव सिर्जना भयो । दुई देशबीचको सम्बन्धमा तिक्तता बढ्यो । एकातिर भूकम्पको चपेटामा परेका नेपालीमाथि अर्कोतिर भारतको नाकाबन्दीले थप दुःख र कष्ट दियो । तैपनि नेपालीहरुले हरेस खाएनन् भारतसित झुक्ने काम गरेनन् । नाकाबन्दी समाप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गर्नुभयो । उहाँले स्वतन्त्र मुलुक नेपालको अडान स्पष्ट शब्दमा भारतसँग राख्नुभयो । ओलीको राष्ट्रवादी अडानले नेपालहरुको मन जित्यो । भारतको भ्रमणपछि चीनको भ्रमण गरी पारवाहन सम्भौता गर्नुभयो । यो सम्झौताले पारवाहनमा भारतसितमात्र भर पर्ने अवस्थाको अन्त्य गरिदियो । सोही कारणले गर्दा सम्पन्न स्थानीय,प्रदेश र केन्द्रीय चुनाव एमालेको पक्षमा गयो । राष्ट्रिय अडानमा अडिन नसकेका कारण नेपाली काँग्रेसले चुनावमा लज्जास्पद हार खानुपर्यो ।
अब नेपाल आर्थिक विकास र समृद्धिको युगमा प्रवेश गर्दै छ । मुलुकमा राजनीतिक आन्दोलन पूरा भएको छ । अब जसरी पनि देशको विकास र समद्धितर्फ जानुपर्छ भन्ने भावना विकास भएको छ । नेपालको सर्वाङ्गिण विकासका लागि भारतले खुला हृदयले सहयोग र समर्थन गर्नुपर्छ । नेपालप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्छ भन्ने सन्देश मोदीको भ्रमणले पनि दिएको छ । नेपाल भारतसितमात्रै आश्रित रहने अवस्था अब छैन । जलस्रोतको विकास गर्न सक्ने हो भने नेपाल हरेक हिसाबले अगाडि बढ्न सक्छ । नेपाललाई हेप्ने प्रवृत्ति भारतले त्याग्नुपर्छ । मोदीले यसपटको नेपाल भ्रमणमा नाकाबन्दी लगाएकोमा क्षमा नमागे पनि नेपालीलाई दुःख दिन काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुलाई सकारात्मक रुपमा हेरिएको छ । नेपालमा सम्पन्न भएको तीनैवटा चुनावको मोदीले खुलेर प्रशंसा गर्नुले नेपालको संविधान भारतलाई स्वीकार्य भएको संकेत गरेको छ । बुद्धको जन्मस्थल लुम्बिनी भएको कुरालाई पनि मोदीले स्वीकार गरी बुद्धका बारेमा भारतमा फैलाइएको भ्रम अन्त्य गर्ने प्रयास गर्नुभएको छ ।
मोदी यस पटक जुन रुपमा नेपालमा आएर प्रस्तुत हुनुभयो यसले भारत नेपालप्रति सकारात्मक बन्दै छ र भारतको हातबाट नेपाल बाहिर नजाओस् भन्ने चाहना प्रतिविम्वित भएको छ । अब नेपाललाई भारतले पुरानो दृष्टिकोणले होइन समानताका आधारमा हेर्नुपर्छ ।