मदन—आश्रितको २६ औँ स्मृति दिवसमा पार्टी एकता

maitrinews

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकता भएको छ । त्यसका लागि दुवै दल म्याराथुन बैठकमा व्यस्त रहे । विहान बल्खुमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले मदन भण्डारी र जीवराज आश्रितलाई सम्झदै ऐतिहासिक दिनमा कम्युनिष्ट एकता गर्न पाउँदा खुशी व्यक्त गरे ।

त्यसपछि दुबै पार्टीका शिर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा विरुवा रोपेर दुई पार्टी एक भएको सन्देश दिए । नेताहरुले वालुवाटारको खाली चौरको चारै कुनामा जापानिज प्रजातिको ‘जिन्को’ नामक विरुवा रोपे, जसलाई दोश्रो बिश्वयुद्धले समेत समाप्त पार्न सकेन । उक्त अवसरमा नेताहरुले आफैंले खनेर रोपेको र पानी हालेको बिरुवा फष्टाएझैं पार्टी एकता पनि त्यतिकै वलियो हुने विश्वास राखे । एमालेका तत्कालिन महासचिव मदन भण्डारीको २५ औं स्मृतिसभाको सन्दर्भ मदनको मार्गदर्शन र पार्टी एकताबारे नेताहरुको भनाइ ः
पार्टी एकता गरेर मदनको चाहना पुरा गरेका छौं
माधवकुमार नेपाल, वरिष्ठ नेता, एमाले
कमरेड मदन भण्डारी बित्नुभएको २५ बर्ष भइसक्यो । आज हामीले २६ औं स्मृति दिवस मनाइरहेका छौ । कमरेड मदन भण्डारीको सशक्त, लोकप्रीय, जनप्रीय कम्युनिष्ट आन्दोलन बनाउने भने एउटा उद्देश्य थियो । अर्कोतर्फ यो देशको रुपान्तरण गर्ने राजनीतिक सामाजिक सांस्कृतिक आन्दोलन अगाडि बढोस् भन्ने । आज दुईपार्टी एकता हुनुले उहाँका सपना र उहाँका चाहनाहरुलाई परिपूर्ति गर्ने दिशामा नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको छ । उहाँको उदेश्य पुरा गर्न नेपाल राष्ट्र अगाडि बढिरहेको छ भन्ने मैले आभास गरेको छु । र, यो एकतावारे उहाँले जानकारी पाउन पाउनुभएको भए उहाँ कति खुशि हुनुहुन्थ्यो होला भन्ने हामीले कल्पना गर्न सक्छौ । यसअर्थमा कम्युनिष्ट आन्दोलन माथि लगाइएका आरोपहरुलाई काम, व्यवहार र चिन्तन विचारहरुबाट अगाडि बढाउने उहाँको चाहना थियो । त्यो हामीले गरेर देखाएका छौं । नेपालको बामपन्थीहरु त्यो दिशातर्फ अगाडि बढिरहेका छन् । आजको यो दिन यस हिसाबले पनि महत्वपूर्ण छ कि दुइवटा ठूलठूला कम्युनिष्ट पार्टी आज एकिकृत हुन गइरहेका छन् । एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी निमार्ण गर्न गईरहेका छन् । त्यसोहुनाले आजको दिन धेरै हिसावले धेरै महत्वपूर्ण दिन हुनेछ ।

कम्युनिष्टहरु फुट्ने होइन, राम्ररी जुट्छन भन्ने सन्देश दिएका छौं ।
इश्वर पोखरेल, महासचिव, एमाले
आजकै दिन नेपालको कम्युनिष्ट आन्दोलनका अत्यन्त चम्किलो ढंगले उदाउँदै गरेको एउटा ताराको अस्त भएको, भौतिक रुपमा अस्त भएको दिन । त्यसअर्थमा केही दुःखद क्षण पनि हो । त्यस हिसावले म उहाँलाई सम्झन्छु तर उहाँको भौतिक अवसान भएपनि उहाँको विचार यात्रामा यात्राको क्रममै हामी आज यो ठाउँसम्म आइसकेका छौं । अर्को सुखद संयोग के छ भने आजकै दिन दुई ठूला कम्युनिष्ट पार्टी एकताबद्ध हँुदैछौ त्यसअर्थमा उहाँको विचार, उहाँको सपनालाई साकार पार्ने हिसावले हामीलाई अगाडि बढाएको छ । त्यस हिसावले पनि हामी उहाँलाई सम्झन्छौ । आज उहाँ हुनुहुन्न तर उहाँले विचारको प्रतिपादन गर्नुभयो, उहाँको विचारको प्रवक्ता बनेर नेपालको कम्युनिष्ट आन्दोलन प्रजातान्त्रिक आन्दोलन र देशभक्तिको आन्दोलनमा देखा पर्नुभयो । वास्तवमा त्यो विचार झनझन शशक्त र प्रभावकारी हुँदै अगाडि बढिरहेको छ । हामी आउने दिनहरुमा अझ सशक्त भएर अगाडि बढनेछौं । आज उहाँप्रति श्रद्धान्जली दिइरहदा कमरेड मदनभण्डारीलाई सम्झन्छु र उहाँका विचारहरुलाई लिएर निरन्तर अगाडि बढिरहनेछु भन्ने प्रण पनि गर्नेछु । पार्टी एक हुनु आफैंमा एउटा राम्रो सन्देश हो ।

कम्युनिष्टहरु फुट्छन भन्ने मात्रै सन्देश गइरहेको अवस्थामा त्यसलाई जवाफ दिदै कम्युनिष्टहरु फुट्ने होइन, साँच्चै राम्ररी जुट्छन भन्ने सन्देश दिन पनि पार्टी एकता भएको हो । आजको पार्टी एकताले हामी दुनियाँको कम्युनिष्ट आन्दोलन र सवैका लागि एउटा दृष्टान्त प्रस्तुत गर्दैछौ । यसले पनि मदनको सपना पुरागर्ने संकल्पवद्ध पंक्ति छौं । र, मदन भण्डारीको सपना पुरा गर्ने काममा लागेका छौं । अव हामी समाजवादको आधार तय गदै समृद्ध मुलुक तयार भएपछि उहाँको सपना साकार हुन्छ । ।

पार्टी एकताको क्षण मदन भण्डारीप्रतिको सच्चा सम्मान हो
सुवास नेम्वाङ्ग, उपनेता, एमाले संसदीय दल
बल्खुमा भएको कार्यक्रममा माओवादी अध्यक्ष र एमाले अध्यक्षले भन्नुभयो– आज पार्टी एकता हुने यो ऐतिहासिक क्षण भनेकै मदन भण्डारीप्रतिको सम्मान हो । यो उहाँप्रतिको सम्मानको लागि नै भएको हो । यसबाट जननेता मदन भण्डारीलाई कुन हद्सम्म माया गछौं, सम्मान गर्छौ भन्ने आजको यो एकताले बताउँछ । उहाँको सपना पुरा हुने दिशातर्फ देश र समाज अगाडि बढाउने सिलसिलामा हामीले महत्वपूर्ण कदम चालेका छौं । अहिले अन्य देशमा कम्युनिष्ट आन्दोलन विभाजित भइरहेको अवस्थामा नेपालको सन्दर्भमा सकारात्मक रुपमा अगाडि बढ्नुले मदन भण्डारीलाई सम्झिएको जस्तो लाग्छ । यो गम्भिर कार्य गरेका छौं, यसले कति हद्सम्म प्रभाव पार्छ समग्र स्थितिमा भन्ने कुरा अव देखिदैं जान्छ ।

देशमा परिपाटी बनाउन खोजिरहेका थियौं । संविधान निर्माणको कार्यमा हामीले नेतृत्व पहल र प्रयास गर्यांै । अन्तत ७० बर्षदेखिको जनताको प्रयास पुरा गर्यौं । राम्रो संविधान बनायौं, अव त्यसलाई कार्यान्वयन गराउने बेलामा हामी अगाडि बढ्यौ । हामीले कसरी सरकारमा जाने भन्नेवारेमा दलहरुकाबीचमा जनतालाई अनुभूत हुने ढंगले एउटा परिर्वतन आवश्यक थियो । कसरी सरकारमा दलबीच गठबन्धन गरेर जाने भन्दापनि गठबन्धन नै जनताबीचमा प्रस्तुत गरेर जनताको आर्शिवाद लिएर गठबन्धन बनाउने एउटा राम्रो संस्कृति हामीले शुरुवात गरेका छौं । यो परिर्वतनको शुरुवात हो । हामीले जनतामाझ गएर जे प्रतिवद्धता गरेका थियौं, अव त्यो वाचा पुरा गर्नेतर्फ हामी अग्रसर भएका छौं ।

एकताले संसारभरका कम्युनिष्टलाई प्रेरणा दिन्छ
भीम रावल, उपाध्यक्ष, एमाले
मदन भण्डारीको हत्या भएकै दिन उहाँ जस्तो नेताको स्मृतिदिवस मनाइरहँदा ठूला दुई राजनीतिक दलहरुले एकीकरण हुनु ठुलो खुशीको कुरा हो । एउटा सशक्त देशभक्त र माक्र्सवाद लेनिनवादमा आधारित मदन भण्डारीको पार्टी निमार्णको प्रक्रिया र देश निमार्णको सम्भावना देखिएकाले केही हदसम्म मदनका सपना पुरा हुँदैछन । नेपाल जस्तो देशमा जनताबाट अनुमोदित भएर यत्रो पार्टी निमार्ण गरिरहेका छौं, यसले संसारका कम्युनिष्टहरुलाई प्रेरणा नै मिल्नेछ ।