नेकपा अध्यक्षद्वय धुम्बाराही र पेरिसडाँडाको अवलोकनमा जाँदै

maitrinews

 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह धुम्बाराही र पेरिसडाँडामा रहेको पार्टीका केन्द्रीय कार्यलयको अवलोकन गर्दै हुनुहुन्छ ।

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार, अध्यक्षद्धय अपरान्ह ४ बजे तत्कालिन एमाले मुख्यालय रहेको धुम्बाराही पुग्नुहुनेछ भने त्यसपछि तत्कालिन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुग्नुहुनुेछ ।

‘अध्यक्षद्धयले कार्यलयको अवलोकन गर्ने हो । अव कसरी कार्यालय व्यवस्थापन गर्दै अघि बढ्ने भन्नेवारेमा छलफल हुन्छ’ उहाँले भन्नुभयो । उहाँहरुले शक्तिशाली कम्युनिष्ट पार्टीको कार्यालय व्यवस्थापन, पदाधिकारीहरुको कार्यालय लगायत बिभिन्न कमिटीहरुको कार्यालयवारे समेत छलफल गर्नुहुनेछ ।

नेकपाले धुम्बाराही र पेरिसडाँडा दुबैलाई प्रधान कार्यालयका रुपमा संचालन गर्ने तयारी गरेको छ । तत्कालका लागि धुम्बाराहीको कार्यालयलाई पार्टी केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको प्रधान कार्यालय बनाउने पार्टीको तयारी छ ।

एमाले र माओवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ । यसैबीच, नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज धुम्बाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गर्नुभएको छ । उहाँलाई कार्यालय सचिव श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।