३३ किलो सुन प्रकरणका अभियुक्तहरुको बहस जारी

maitrinews

काठमाडौं । गायब भएको भनिएको ३३ किलो सुन र सनम हत्या प्रकरणमा पक्राउ परेका ३२ जनाको थुनछेक बहस सोमबार सम्ममा टुंगिन सक्ने बहसमा संलग्न सरकारी वकिलहरुले बताएका छन् । मोरङ जिल्ला अदालतमा पक्राउ परेकाहरुलाई पूर्पक्षका लागि थुनामा राख्ने कि साधारण तारेखमा रिहा वा धरौटीमा रिहा गर्ने भन्नेमा बहस जारी छ ।

जिल्ला अदालत मोरङमा पक्राउ परेका र फरार रहेका ६३ जनालाई प्रतिवादी बनाएर अहिले थुनछेक बहस चलिरहेको मोरङका मुख्य न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार हाल प्रतिवादीको पक्षमा ६८ जना वकिलले बहस गरिरहेका छन् । प्रतिवादी पक्षका सबैजसो वकिलहरुले सनमको हत्या बाहेक अन्य कुराको स्पष्ट प्रमाण नभएकाले साधारण तारेखमा रिहा गर्न माग गर्दै आएका छन् ।

यसअघि सरकारी पक्षबाट ६ जनाले बहस गरेका छन् । पाठकले बाह्रखरीसँग भने–“प्रतिवादी वकिलहरुको बहस सकिएपछि हामीले प्रतिउत्तर गर्छौ, सम्भवतः सोमबार टुङ्गिनसक्छ ।” दुवै पक्षको बहसलगत्तै अदालतले थुनचेक आदेशबारे निर्णय सुनाउने पाठकले बताए । ३३ किलो सुन प्रकरणमा फरार रहेका चूडामणि उप्रती ‘गोरे’लाई मुख्य अभियुक्त बनाएर रेडकर्नर नोटिस जारी गरिएको छ ।
सुन गायब र सनम हत्यासँग जोडेर पक्राउ परेकामाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको टोलीले सुन र सनम शाक्यको हत्याबारे अनुसन्धान गरिरहेको छ ।