काठमाडौ ।  केपी शर्मा ओली नेतृत्वको सरकारले आज सय दिन पुरा गर्यो । प्रधानमन्त्री ओलीप्रति जनताको विश्वास छ । प्रधानमन्त्रीले देखाउनु भएका सपना पुरा हुन्छन भन्ने आशा पनि छ । 

तर त्यति हुँदा हुँदै पनि जनताका अतिरिक्त आशा र आकाक्षा सम्वोधन गर्न प्रधानमन्त्रीलाई उनीहरुकै सुझाव, गुनासा, प्रस्ताव र माग पनि छन् । प्रधानमन्त्रीसँग ती आफ्ना सोच कसरि पुर्याउने ? प्रधानमन्त्रीले सबैलाई व्यक्तिपिच्छे भेटवार्ता गर्ने अवस्था हुँदैन । त्यसो भए नागरिकसँग प्रधानमन्त्री कसरि जोडिने त ?    

आखिर हिजोआज मोबाइल त सबैसँग छ । त्यसो भए प्रविधिमार्फत जोडिने । हो, यसरि आम नागरिकलाई प्रधानमन्त्रीसँग जोड्ने प्रयास गर्दैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । जनताका सरोकारवारे बढी जानकार प्रधानमन्त्री ओलीले जनचाहना र आँकाक्षा नबुझ्ने कुरै भएन । त्यसमा पनि सवै घटनाक्रमप्रति आफैं अद्याबधिक हुने प्रधानमन्त्रीले चाहना र गुनासा बुझ्नुभएकै छ ।     

जोसँग बढी बिश्वास हुन्छ, प्रश्नहरु उसँगै सोधिन्छ । सरकार र जनताबीच ग्याप नहोस् भन्ने बुझनुभएका प्रधानमन्त्री अव मोवाइल एपमार्फत तपाई÷हामीसँग जोडिदै हुनुहुन्छ । ‘सबै नेपाली जनतालाई सरकार भएको आभाष होस् र मैले भनेको गुनासो सरकारले सुन्छ र तत्काल कार्यान्वयन गराउँछ भन्ने अनुभुति होस् भनेर यो सुरु गर्न लागिएको हो’ प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्गर अलीले चक्रपथसँग भन्नुभयो ।  

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सरकारी सेवासम्वन्धी सवै गुनासा सुन्न एउटै एप निमार्णको क्रममा रहेको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री सूचना प्रविधिमा एकदमै इच्छुक हुनुहुन्छ, उहाँ सर्वसाधरणको समस्या गुनासा सुन्नलाई उत्साहित र गम्भीर पनि भएका कारण हामीले यो अवधारणा अघि सारेका हौ ’ उहाँले भन्नुभयो । जनतालाई सरकारसँग पुर्याउने उपयुक्त माध्यमका रुपमा विकास गरिदै लगिएको यो एपले सरकार र जनताबीच पहुँच बढोस् भन्ने उदेश्य राखिएको छ । 

प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को परिकल्पनासँगै यो योजनालाई दिर्घकालिन उदेश्य प्राप्त गर्ने गरी सुरु गर्न लागिएको हो । हाल सरकारले हेलो नेपालमार्फत जनताको गुनासो सुनिरहेको छ । सरकारका सेवा सुविधा नागरिकका समस्यासँग सिधा सम्वन्धित निकायमा पुग्ने गरि यो एपको विकास गरिएको अलीले बताउनुभयो । 

उहाँका अनुसार, यो एपको प्रयोग आगामी आर्थिक बर्ष साउनदेखि प्रयोगमा ल्याइनेछ । हाल नेपाल प्रहरीे, काठमाडौ महानगरपालिकाको पनि आफनै एप छन् । संस्थाको आ–आफनो एप भएपनि अव एउटै एपको सहायताले सबै सरकारी कार्यालयको अवधारणा मोवाइलमै रहने उहाँले बताउनुभयो । जसको प्रयोगले जनतालाई एकिकृत सेवा लिन सहज हुन्छ ।  यसअघिका सरकारी कार्यालयमा रहेका एपमा नागरिक वडापत्र, जनगुनासा समावेश थिए ।  अब तिसँगै अन्य नयाँ नयाँ प्रविधि थपिदै लगिने उहाँले बताउनुभयो । आम मानिसको पहुँचका लागि यो एप सरल, सहज,आधुनिक र सुविधाजनक हुने बताइएको छ । साथै एपको माध्यमबाट आएका गुनासो सम्वन्धित व्यक्तिले तत्काल सुन्ने भएकाले यसको प्रभावकारिता बढ्नेछ ।