ओली सरकारका सयदिन : जनतामा आशाको सञ्चार— न्हुच्छेनारायण डंगोल

maitrinews

नेपालमा केपी शर्मा ओली नेतृत्वको शक्तिशाली कम्युनिस्ट सरकारले सयदिन अर्थात् मधुमास सम्पन्न गरेको छ । यो सयदिनमा गरेको कामले जनतामा नयाँ आशा सञ्चार भएको छ । सरकारले चुनावमा गरेको वाचा अनुसार काम सुरु गरेकाले नयाँ आशा सञ्चार भएको हो । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै मुलुक समृद्धिको दिशामा अगाडि बढेको बताउनुभएको छ ।
ओली सरकारले मुलुकमा राजनीतिक स्थायित्व,शान्ति र विकास साथै सुशासन दिने भन्दै सहमतिका आधारमा मुलुक चलाउने प्रण गरेको छ । नेपालमा प्रजातन्त्र आएयता अहिलेसम्म पाँच वर्षसम्म सरकार चलाउन नसकिएकाले राजनीतिक अस्थिरता प्रमुख समस्या बन्दै आएकोमा पहिलोपटक स्पष्ट बहुमतसहित नेपाल कम्युनिस्ट पार्टीले सरकार चलाउने जनमत पाएको छ ।
नेपालमा अब राजनीतिक मुद्दा सकिएकोले आर्थिक विकास,शान्ति र सुशासनमा ध्यान केन्द्रित गर्नुपर्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि जनतामा थप आशा पलाएको छ । यो सरकार इतिहासमै शक्तिशाली छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन पाँच वर्षसम्म । राम्रो काम गर्यो भने जनताले फेरि पनि बहुमत दिने छन् । राम्रो काम गर्न नसके नेकपाको भविष्य नै संकटमा पर्नेछ । अग्निपरीक्षामा रहेको नेकपाको सरकारले सय दिनमा आशा लाग्दा काम सुरु गरेको छ । यातायात क्षेत्रको सिन्डिकेट हटाउनु , देशलाई लोडसेडिङ मुक्त गर्नु, ३८ किलो सुन पक्राउ गरी मुद्दा चलाउनु, सानो आकारको विवादरहित मन्त्रिमण्डल बनाउनु , वार्षिक नीति तथा कार्यक्रम ल्याउनु , भारतसित चिसिएको सम्बन्ध सुधार गर्नु आदि सयदिनका उपलब्धि हुन् ।
लोकतान्त्रिक पार्टी भएर पनि नेपाली काँग्रेसले राम्रो काम गर्न नसकेकोले नेपाली जनताले भरपर्दो विकल्प खोजेका हुन् । चुनावमा काँग्रेस नराम्ररी पराजित भयो तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एउटै चुनाव घोषणापत्र लिएर चुनावमा गए । जसले गर्दा स्थानीय तहदेखि केन्द्रसम्म अत्यधिक बहुमतको सरकार बनाउन सफल भए । ओली सरकार इतिहासकै सर्वशक्तिशाली सरकार बनेको छ । यो सरकारविरुद्ध काँगेसले अविश्वासको प्रस्तावसम्म ल्याउनसक्ने हैसियतमा छैन । त्यसैले सरकार तानाशाही,अधिनायकवादी हुने हो कि भनी काँग्रेसले चिन्तासहित आरोप लगाउँदै आएको छ । तर ओली सरकारले भने अब मुलुकमा कुनै किसिमको अधिनायकवादी शासन आउने र जनताको अभिमतलाई गलत ठाउँमा प्रयोग नगरिने प्रण गरेको छ ।
नेपालमा राजनीतिक अस्थिरताले गर्दा नै विकास , शान्ति र समृद्धि नभएको सबैले अनुभूति गरेर नै यसपटक स्थिर सरकार बनाउन जनताले अभिमत दिएका हुन् । जनताको यो अभिमत अनुसार ओली सरकारले काम गर्न सक्यो भने पाँच वर्षमा मुलुकको स्वरुप परिवर्तन हुनेछ । यो सरकारले अब इमानदारपूर्वक काम गरी मुलुकलाई समृद्ध बनाउनुपर्छ ।
मुलुकमा अब राजनीतिक मुद्दा छैनन् । संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा पर जाने ठाउँ छैन । अब त विकास र निर्माणबाहेक अर्को विकल्प छैन । दोहोरो अंकको आर्थिक बृद्धिदर बनाउने ,कृषि,पर्यटन तथा जलविद्युत् क्षेत्रमा प्रचूर विकास गरी नेपालीहरुलाई धनी बनाउने र मुलुकलाई विकसित मुलुकको कोटीमा पुर्याउन सकिने सम्भावना बढेका छन् । प्राकृतिका स्रोत र साधनले भरिपूर्ण हुँदाहुँदै पनि समुचित परिचालन गर्न नसकिएकोले नेपाल पछि परेको हो । अब नेपाल पछौटेपनमा रहन सक्दैन र रहनु हुँदैन ।
मुलुकमा अहिलेसम्म राजनीतिक स्थिरता नभएको र एक दशक लामो माओवादी द्वन्द्वमा फसेका कारण मुलुक अस्तव्यस्त बनेको हो । २०७२ सालमा गएको विनासकारी भूकम्पले झन् अस्तव्यस्त बनायो । स्वदेशमा रोजगारीको अवसर सिर्जना भएन । भएका उद्योगधन्दा बन्द भए । बेरोजगारी समस्या बढ्यो जसले गर्दा ४० लाख भन्दा बढी नेपाली विदेशिन वाध्य भए । चरम राजनीतिक अस्थिरताले गर्दा मुलुककै अस्मितामाथि प्रश्नचिह्न खडा भयो । नेपालकको स्वाभिमान कमजोर भयो । केही सीमित मान्छेले मात्र राजनीतिक अस्थिरताका फाइदा उठाइ मालामाल भए । नेपाललाई गरिब र हरिकंगाल बनाउने काम भयो । विगतको यो तीतो यथार्थलाई आत्मसात् गर्दै नेपालीहरुले राजनीतिक निकासका लागि बलियो सरकार बनाउने प्रण गरे जसले गर्दा नेकपाले बहुमतको सरकार बनाउने अवसर पाएको हो । अब सत्तारुढ नेकपा आन्तरिक विवादमा नमुछिएर राजनीतिक स्वार्थभन्दा माथि उठर मुलुकको सर्वाङ्गिण विकासमा ध्यान केन्द्रित गर्नुपर्छ ।
नेपालमा राजनीतिक स्थिरता भयो विकासले गति लियो भने विदेशिएका नेपालीहरु स्वदेश फर्केर काम गर्न इच्छुक छन् । अब ठूलो मात्रामा रोजगारीको अवसर सिर्जन गर्न कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासलाई जोड दिनुपर्छ । नारा र सपना बाँडेर हुँदैन काम गरेर देखिउने बेला आएको छ । प्रधानमन्त्री ओलीका काँधमा ठूलो जिम्मेवारी आएको छ । इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओलीले दुई छिमेकी भारत र चीनसित राम्रो सम्बन्ध स्थापित गरी दुवै मुुलुकबाट नेपाललाई फाइदा हुने काम गर्नुपर्छ । भारतको भ्रमण गरिसक्नुभएका ओली अब चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले चीनसित गरिएका सम्झौता कार्यान्वयन गरी चीनबाट नेपालमा रेल ल्याउने तथा राजधानी काठमाडौँमा मोनोरेल र मेट्रोरेल चलाउने वातावरण बनाउनुपर्छ । ओली सरकारबाट नेपाली जनताले निकै ठूलो आशा र भरोशा राखेका छन् । जनताको आशा र भरोसालाई कमजोर हुन दिनु हुँदैन । ओली सरकारले शक्तिको दुरुपयोग गरी मुलुकलाई गलत दिशामा जान दिनु हुँदैन । अझै पनि तराइवासीका केही गुनासा छन् ती गुनासालाई विना पूर्वाग्रह संविधानमा आवश्यक संशोधान गरी सम्बोधन गर्नुपर्छ । कुनै पनि बहानामा अब मुलुकलाई अर्को द्वन्द्वमा जाने अवस्था आउन दिनु हुँदैन । ओली सरकारलाई सफलताको शुभकामना ।